मङ्गलसेन बजार क्षेत्रको सडक ८ मिटर चौडा पारिँदै

अछाम । अछामको मङ्गलसेन नगरपालिकाले आयोजना गरेको सरोकारवाला सँगको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नगरपालिकाको मुख्य बजार व्यवस्थापन अन्तर्गत बजार क्षेत्र भित्रको सडक सरसफाई तथा ढल निकास र कृषि सङ्कलन तथा वितरण केन्द्र व्यवस्थापनमा छलफल गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको थियो ।
मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा बसेको बैठकले नगरपालिका द्वारा पूर्व निर्धारित मापदण्ड बमोजिम नै बजार क्षेत्रमा ८ मिटर सडक कायम गर्ने यसका लागि पक्की घर संरचनामा ८ मिटर सडकका लागी चिन्ह दिएर सङ्केत गर्ने तथा ८ मिटर सडक बनाउनका लागी थप सरोकारवाला सँग छलफल गर्ने निर्णय गरेको छ ।
सरोकारवालाको बैठकले पक्की संरचनाका लागि केही समय दिने र कच्ची संरचना हटाउने कार्य तत्काल अगाडी बढाउने निर्णय समेत गरेको नगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैशीले जानकारी दिनुभएको छ ।

वडा न ५ को कार्यालयमा बसेको बैठकले मङ्गलसेन बजार सरसफाईका लागी सबै होटेल व्यवसायी, अन्य व्यापारी तथा घरधनीले घरमा उत्सर्जन भएको फोहोर स्वयम व्यक्तिले कुहीने नकुहिने फोहोर छुट्याएर नगरपालिकाको टिप्परमा आफै फोहोर फालेर सहयोग गर्ने, हप्ताको दुई दिन बजार क्षेत्रको फोहोर उठाउन टिप्पर पठाउने निर्णय समेत गरिएको छ ।
बैठकले साउन १ गते बाट लागु हुनेगरि बजार क्षेत्रमा तरकारी, फलफूल र मासु बेचबिखन गर्न नदिने यदि निर्णयको अवज्ञा गरेको पाइएमा कडाभन्दा कडा कारबाही गरिने, विभिन्न व्यवसाय गरिरहेका व्यापारीलाई करको दायरमा ल्याउने, मङ्गलसेनका विभिन्न ठाउँमा अव्यवस्थित ढङ्गले पार्किङ गर्ने सवारी साधनलाई तोकिएको ठाउँमा पार्किङका लागी जिल्ला प्रशासन कार्यालय अछामलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको नगरपालिकाका प्रवक्ता एवं मङ्गलसेन नगरपालिका वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीले बताउनुभयो ।
मङ्गलसेन बजारमा अहिले पनि खानेपानीका लाइनहरू व्यवस्थित नभएको, बिजुलीका तारहरूको सहित व्यवस्थापन नभएको पाइएकाले यसका लागी तत्काल पहल गरिने समेत बैठकले निर्णय गरेको छ ।

बैठकमा सहभागी मङ्गलसेन बजारका व्यापारी तथा घरधनीहरूले नगरले गरेका निर्णयहरू प्रशंसनीय रहेकाले यसलाई कार्यान्वयन गरेर लैजानुपर्नेमा जोड दिएका थिए ।
यसभन्दा अघि नगरपालिकाले गरेका केही निर्णयबाट आफै पछि हटेकोमा गुनासो गर्दै बजार भित्रको सडकको स्तरोन्नति गर्ने नाममा पक्षपात गर्न नहुने र राम्रो काममा आफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।
बैठकमा सहभागी सरोकारवालाले गरेको गुनासो, सोधिएका प्रश्नको जवाफ दिँदै नगर प्रमुख पदम बहादुर बोहराले बजारबासीको सल्लाह बमोजिम नै नगरपालिका अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।
बजारबासीको सहयोग बिना बजारको सुन्दरता नबढ्ने भएकाले आफ्नो घर अगाडीको फोहोर व्यवस्थापन आफैले गर्नुपर्ने, नगरपालिकालाई रचनात्मक सहयोग गरेर नगरको विकासका लागी सहयोग गर्न अनुरोध गर्नुभएको छ । नगरपालिका आफ्नो निर्णय बाट पछि नहट्ने भन्दै उहाँले नगरपालिकाले गरेका हितकारी निर्णयका विरुद्ध अनावश्यक नबोल्न आग्रह गर्नुभयो ।
बैठकमा वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, वडा न ४ का अध्यक्ष नाम सिं धामी, वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाटले बजार क्षेत्रको विकासका लागी कटीबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ । बैठकमा मङ्गलसेन बजार क्षेत्र भित्रका व्यापारी, घरधनी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले सहजीकरण गर्नुभएको बैठकको सञ्चालन सूचना अधिकारी बिष्णु प्रसाद जैशीले गर्नुभएको थियो नगरपालिकाका स्टोर शाखा प्रमुख नरेश कठायतले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्