श्रीलङ्काका राष्ट्रपतिद्वारा ईन्धन समस्या समाधानका लागि रुसी समकक्षीसँग फोनवार्ता
कोलोम्बो। श्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।
राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता निकै उपलब्धिमुलक भएको बताउनुभयो ।
उक्त अवसरमा राजपाक्षले विगतका चुनौतीहरूको सामना गर्न रूसी सरकारले गरेको समर्थनको लागि नेता पुटिनप्रति आभार प्रकट गर्नुभएको छ ।
राजपाक्षले भन्नुभयो, “अहिलेको आर्थिक चुनौतीलाई पराजित गर्न श्रीलङ्कालाई इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव माग गरिएको छ ।”
उहाँले रूसी समकक्षी पुटिनसँग रूसी विमान कम्पनी ‘एरोफ्लट’ को सेवा श्रीलङ्कामा पुनः आरम्भ गर्न अनुरोध पनि गर्नुभएको उहाँको कार्यालयले जनाएको छ ।
उहाँले भन्नुभयो, “पर्यटन, व्यापार र संस्कृतिजस्ता क्षेत्रमा साझेदारी गरी द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्नु हाम्रा दुई राष्ट्रहरूका लागि सबैभन्दा महत्वपूर्ण छ भन्नेमा हामी सबै सहमत छौँ ।”
इन्धन अभावको सामना गर्दै आएको श्रीलङ्काका राजनीतिक दल तथा उनीहरूका नेताले राष्ट्रपति राजपाक्षलाई रूससँग कच्चा तेलको लागि अनुरोध गर्न आग्रह गरेपछि राष्ट्रपति र रूसी नेताबीच फोनवार्ता भएको हो ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्