तपाईँ सुन्दै हुनुहुन्छः

समावेशी प्रसार सामग्री उत्पादन, प्रसारण सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सुरु

काठमाडौँ । रेडियो नेपालबाट प्रसारण हुने सामग्रीहरूलाई समावेशी बनाउनका लागि त्यसको उत्पादन र प्रसारण सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको छ ।

रेडियो नेपालमा आयोजित तालिम तथा अन्तरक्रिया कार्यक्रमको शुभारम्भ गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष डा.वैकुण्ठ अर्यालले रेडियो नेपालबाट प्रसारण भइरहेका समाचार, कार्यक्रम तथा समावेशी प्रसारणलाई थप प्रभावकारी बनाउन र प्रस्तुतिमा निखार ल्याउनका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मुलुकमा रहेका विभिन्न जातजाति, भाषाभाषी बीचको सहिष्णुता कायम गरी त्यसलाई थप मजबुद बनाउन पनि समावेशी तालिम तथा अन्तरक्रिया कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो ।

सचिव अर्यालले रेडियो नेपालबाट प्रसारण हुँदै आएका समावेशीताका कार्यक्रम लक्षित वर्गसम्म पुग्न सक्यो कि सकेन र त्यसको प्रभावकारिता कस्तो रहेको छ भन्ने विषयमा समय समयमा अनुगमन गर्न पनि जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले सुरुवात देखि नै विभिन्न भाषामा समाचार र कार्यक्रमहरू प्रसारण गर्दै आएको र रेडियो नेपालका लागि समावेशिता कोशेढुंगा भएको उल्लेख गर्नुभयो ।

उहाँले रेडियो नेपालबाट हाल २१ भाषामा समाचार तथा कार्यक्रम प्रसारण हुँदै आएकोमा प्रसारण सामग्रीमा थप सुधार गर्न तथा सिद्धान्त र नीतिमा एकरूपता ल्याउन पनि तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले नेपालमा समावेशी प्रसारणको आरम्भ रेडियो नेपालबाट भएको भन्नुहुँदै समयानुकूल यस्ता प्रसारणलाई परिमार्जन गर्दै नयाँ पुस्तासम्म पुग्नका लागि तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

तालिमले समाचार र कार्यक्रममा रहेर काम गर्ने कर्मचारीको क्षमता अभिवृद्धिमा सहयोग पुग्नुका साथै रेडियो नेपालको समावेशी प्रसारणमा थप प्रभावकारी हुने बताउनुभयो । 

कार्यक्रममा रेडियो नेपालका तालिम शाखा प्रमुख जनार्दन विष्टले समावेशी तालिमबारे जानकारी दिनुभएको थियो ।

तालिम तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न भाषा भाषीका विज्ञहरूले कार्यपत्र प्रस्तुत र टिप्पणी गर्नुहुनेछ । 

आजदेखि सुरु भएको तालिम तथा अन्तरक्रिया कार्यक्रम तीन लिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button