तपाईँ सुन्दै हुनुहुन्छः

सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुस् : स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा समस्या रहेको भन्दै समाधानका लागि आफ्नो दायित्वलाई नबिर्सिन कर्मचारीलाई निर्देशन दिएका छन् । 

स्वास्थ्य सेवा विभागले आज मङ्गलवार आयोजना गरेको विभाग अन्तर्गतका मुख्य मुख्य कार्यक्रमहरूका बारेमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री केसीले यस्तो बताएका हुन् । उनले सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई आग्रह गरे । उनले भने, ‘थप बजेट आवश्यक परे पहल गर्छौ । 

विभागको स्तरोन्नतिका लागि के गर्नुपर्छ योजना बनाउनुस् । सदैव सकारात्मक सहयोग रहन्छ । तर, आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्नुस् । ’

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालय मातहतको महत्त्वपूर्ण निकाय भएकाले पनि यसको सबलीकरणका लागि योजना बनाउनुपर्ने बताए । केसीले भने, ‘तपाइहरूले जनतालाई पहिलो केन्द्रमा राखेर काम गर्नुपर्छ । अहिले पनि नागरिकहरू स्वास्थ्य सेवा सहज तरीकाले नपाएर भौँतारिनुपर्ने अवस्था छ । यो अवस्थाको हल गर्नुपर्ने आजको आवश्यकता हो । ’

केसीले भने, ‘आफ्नो ठाउँमा आफूले पाएको जिम्मेवारी लगनशीलताका साथ गर्नुभएको छ । केही कुराहरू नमिलेको जस्तो लाग्छ । धेरै ठाउँहरूमा समस्या देखिन्छ । स्वास्थ्य मन्त्रालयमा अलिक समस्या देख्छु मैले । थुप्रै नमिलेको देख्छु । मलाई कुनै स्वार्थ छैन । ’

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले विभाग अन्तर्गतका मुख्य मुख्य कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button