तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा युवक हत्या प्रकरण : पीडितको आन्दोलन, प्रशासनको निषेधित क्षेत्र घोषणा

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १५ वर्षीय बालक विनोद शाहीको हत्यामा संलग्नलाई छिटो कारबाही हुनुपर्ने माग गर्दै आफन्तले सदरमुकाम केन्द्रित आन्दोलन शुरु गरेका छन् ।

जिल्ला प्रशासन, जिल्ला अदालत तथा सरकारी वकिल कार्यालयमा न्यायको माग गर्दै धर्ना बस्ने लगायतका कार्य गरेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।

सदरमुकाम मङ्गलसेनका मङ्गलसेन दरबार क्षेत्र, अदालत, सरकारी वकिल कार्यालय, बैरागीधारा, कृषि ज्ञान केन्द्र, मङ्गलसेन नगरपालिका कार्यालय क्षेत्रमा विरोधका कार्यक्रम नगर्न भन्दै निषेधित क्षेत्र घोषणा गरिएको हो ।

तोकिएका निषेधित क्षेत्र उलङ्घन गरेको पाइएमा कानुनी कारबाही हुने प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी मरासेनीले जारी गर्नुभएको सूचनामा तोडफोड, आगजनी, धम्की, कार्यालयको कामकाजमा अवरोध नगर्न भनिएको छ ।

अछामका पाँच दलले मङ्गलबार सदरमुकाम मङ्गलसेनमा प्रदर्शन गर्ने भएपछि सुरक्षा कायम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

पीडित पक्षसहित अछामका पाँच दलले आइतबार र सोमबार जिल्लाका सवारीसाधन दुई दिन बन्द गराएका थिए । प्रहरी र आन्दोलनकारीबीचमा मङ्गलसेनमा झडपका क्रममा दुवै पक्षका घाइते भएका छन् ।

सोमबार भएको झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले दश राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान निवासी १५ वर्षीय विनोद शाहीको हत्यारा कारबाहीको माग गर्दै जेठ २१ बाट पीडित पक्षले आन्दोलन गरिरहेको छ ।

पीडित पक्षले एक महिना अघि १३ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ । हत्याको आरोपमा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख सहित सात जना प्रहरी हिरासतमा रहेका छन् । अन्य छ जना फरार रहेको बताइएको छ ।

जेठ १७ गते बेलुकाबाट बेपत्ता भएका विनोद पाँच दिनपछि पञ्चदेवल क्याम्पस नजिक मध्यपहाडी सडकभन्दा तल खोचमा मृत अवस्थामा फेला परेका थिए । जेठ २१ गते मृत फेला परेका शाहीका आफन्तले हत्यारालाई कारबाही नभएसम्म शव रोकेका कारण जेठ २५ गते घटनास्थलबाट शव उठाइएको थियो ।

पीडित पक्षले मङ्गलवार पनि सदरमुकाम मङ्गलसेनमा न्यायको माग गर्दै र्‍याली निकालेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button