तपाईँ सुन्दै हुनुहुन्छः

विकासका लागि रचनात्मक प्रतिपक्ष र ऊर्जाशील युवाको खाँचो: मुख्यमन्त्री शाही

जुम्ला । कर्णाली प्रदेश मुख्यमन्त्री जीवन बहादुर शाहीले विकासका लागि रचनात्मक प्रतिपक्षको खाँचो रहेको बताउनुभएको छ । ऊर्जाशील युवा र रचनात्मक प्रतिपक्ष नभई अपेक्षित विकास नहुने मुख्यमन्त्री शाहीले उल्लेख गर्नुभयो ।

नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रमको समापनमा मुख्यमन्त्री शाहीले रचनात्मक प्रतिपक्षको भूमिका निभाउने संसदीय प्रणालीको विकास जरुरी रहेकोमा जोड दिनुभयो ।

६ “ब” मा प्राथमिकता
“कर्णालीको समृद्धिका लागि ६ वटा “ब”को विकासलाई मुख्य प्राथमिकता दिएको छु ।” मुख्यमन्त्री शाहीले भन्नुभयो, “बाटो, बिजुली, वन, बजार, विचार, व्यवस्थापन” यी ६ वटा “ब” को विकास नभई कर्णाली समृद्ध हुन्न ।”

कार्यक्रममा कर्णालीका १० वटै जिल्लाबाट ४० बढी युवा सहभागी थिए । कार्यक्रमले संसदीय प्रणालीका विषयमा धेरै कुराको ज्ञान प्राप्त हुनुका साथै क्षमता विकासमा समेत टेवा पुगेको सहभागी सावित्री भट्टराईले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काफ्लेले युवाको सशक्तीकरण बिना देश विकास नहुने मनसायले कर्णालीको समृद्धिका लागि यस्ता तालिम गरिएको बताउनुभयो । सङ्घीय नमुना युवा सभा अभ्यासका लागि सहभागीबाट ७ जना छनोट गरी सङ्घमा पठाइने छ ।

प्रशिक्षक प्रकाश उपाध्यायले कर्णालीका युवा नेतृत्व र विकासका लागि अग्रसर देखिएकोले प्रदेश सरकारले युवामैत्री नीति निर्माणमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button