तपाईँ सुन्दै हुनुहुन्छः

सिकलसेल र थालेसेमिया रोग नियन्त्रणका लागि बाँकेका स्थानीय सरकार प्रतिबद्ध

नेपालगञ्ज । थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको वंशाणुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि बाँकेका स्थानीय सरकार प्रमुखहरूले प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा आज नेपालगञ्जमा आयोजित कार्यक्रममा सहभागी पालिका प्रमुखहरूले सो प्रतिबद्धता जनाएका हुन् । सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि समुदायका सबै बालबालिकाको स्क्रिनिङ गरेर उपचार र त्यसको व्यवस्थापनमा स्थानीय सरकारले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाँकेका थारु बाहुल कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा सिकलसेल तथा थालेसेमियाको प्रभाव बढी छ । कोहलपुर नगरपालिकाले ल्याब राखेर स्क्रिनिङ गर्दै आएको छ भने राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा ल्याब छैन । जसका कारण त्यहाँ स्क्रिनिङ गर्न समस्या छ । सिकलसेल तथा थालेसेमिया विज्ञ डा. राजन पाण्डेले पालिकाहरूले आफ्नो अस्पतालमा ल्याब राख्ने सिकलसेल र थालेसेमियाका बिरामीका लागि चाहिने औषधि तथा चेकजाँचमा पालिकाले सहयोग गर्ने हो भने बिरामीलाई धेरै राहत हुने बताउनुभयो । सरकारले सिकलसेलका बिरामीलाई उपचार खर्चबापत एक लाख दिने गरेको छ । तर, थालेसेमियाका बिरामीलाई भने उपचार खर्च दिने गरेको छैन । दुवै रोग उस्तै–उस्तै खाले र जनस्वास्थ्य समस्याकै रुपमा रहेकाले स्थानीय सरकारले यस्ता बिरामीलाई उपचारमा सहयोग पुर्‍याउनु पर्ने डा. पाण्डेको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, उपप्रमुख सीता कार्की, राप्तीसोनारी गाउँपालिकाका प्रमुख तप्त बहादुर पौडेल, राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनीषासिंह थारु, डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, नरैनापुर गाउँपालिकाका कार्यवाहक प्रमुख जयन्तीदेवी श्रीवास्तव, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह लगायतको सहभागिता रहेको स्वास्थ्य कार्यालय अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button