तपाईँ सुन्दै हुनुहुन्छः

यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न प्रतिबद्ध छु : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

संसद् भवन नयाँ बानेश्वरमा आयोजित संसद् दिवस कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउन आवधिक निर्वाचनले  महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले निर्वाचन समयमै गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री देउवाले सांसदहरुले दलीय राजनीति भन्दा माथि उठेर काम गर्नुपर्ने र  सङ्घीय शासन प्रणालीलाई बलियो बनाउँदै तथा दिगो शान्ति कायम गर्दै मुलुकलाई विकासको गतिमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले जनप्रतिनिधिले जनता र राष्ट्रको सर्वोपरि हितका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसद्, जनता तथा राष्ट्रको आवाज उठाउने थलो भएकोले देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि संसद्लाई सुरक्षित तथा सम्मानपूर्वक रुपमा सुचारु गर्नुपर्ने बताउनुभयो । 

संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङले संसद् अवरुद्ध हुने कारणबारे अध्ययन, छलफल गर्नुपर्ने भन्दै सरकारका काम कारबाहीबारे संसदमा प्रश्न उठेपछि त्यसको छानविन हुनुपर्ने बताउनुभयो । 

यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा  राजनीतिक स्थिरता, सामाजिक न्याय, आर्थिक विकास, सुशासन, भ्रष्टाचारमुक्त समाज आवश्यक भएको भन्नुहुँदै सबैले यसमा ध्यान दिनुपर्ने बताउनुभयो । 

कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द शर्मा कोइरालाले संसद् बनाउने कुरामा सांसदहरू केन्द्रित हुनुपर्ने भन्दै अध्यादेशबाट मुलुक चलाउनुपर्ने अवस्था आउन दिन नहुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button