बालबालिकाका लागि दिवा खाजामा चरम लापरबाही
वीरगञ्ज । सरकारले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरूका लागि दिवा खाजा कार्यक्रममा ठूलो रकम खर्चिए पनि विद्यालयहरूका कारण दिवा खाजामा लापरबाही भएको छ ।
पर्साका अधिकांश सामुदायिक विद्यालयहरूमा दिवा खाजा गुणस्तरहीन भएको तथा अधकल्चो खानेकुरा बालबालिकाहरूलाई खुवाउने गरिएको अभिभावकहरूले गुनासो गरेका छन् ।
विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गराउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि पर्याप्त कार्बोहाइड्रेट, प्रोटिन, फ्याट तथा शरीरलाई चाहिने विभिन्न पोषक तत्त्व मिलाएर खाजा दिने व्यवस्था मिलाउन हरेक सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको हो ।
तर विद्यालयहरूले भने नपाकेको खानेकुरा त्यो पनि चाहिने जति नदिने गरेका कारण नामको लागि मात्रै दिवा खाजा भएको हुँदा बालबालिकाहरूलाई खाजा घरबाटै पठाउनुपरेको अभिभावकहरूको गुनासो छ ।
साथै पर्साका कतिपय विद्यालयहरूमा आर्थिक वर्षको अन्त्यमा सम्म पनि दिवा खाजा कार्यक्रम सञ्चालन नगरेको अभिभावकहरूको भनाई छ ।
दिवा खाजा कार्यक्रमको बजेट सङ्घ सरकारबाट पालिकामा समयमा पठाइए पनि विद्यालयमा भने आर्थिक वर्षको अन्त अन्तमा मात्रै आइपुग्ने गरेकोले दिवा खाजा वितरणमा समस्या हुने गरेको शिक्षकहरूले गुनासो गरेका छन् ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको श्रीपुर पचगावा माविका प्रधानाध्यापक शिवनाथ प्रसाद चौधरीले दिवा खाजा कार्यक्रमको लागि बजेट समयमै नआउँदा समस्या हुने गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्