विवाहको उमेर घटाउन नहुने सरोकारवालाहरूको भनाई

काठमाडौँ । विवाह गर्ने उमेर २० वर्ष नै कायम राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको बाल विवाह, कानूनी व्यवस्था र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले वर्तमान कानूनले व्यवस्था गरेको विवाहको उमेर २० वर्ष नै उपर्युक्त भएको बताएका हुन् ।
अन्तर्क्रियामा प्रतिनिधिसभाको कानून तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरलेले विवाहको उमेर २० वर्षबाट घटाउन नहुने बताउनुभयो । त्यसैगरी महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले विवाहको उमेर २० वर्ष कायम हुँदा समेत बाल विवाह हुने गरेकाले विवाहको उमेर घटाउन नहुने बताउनुभयो ।

राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार समितिका सभापति पार्वती रावलले निकै लामो सङ्घर्षबाट कानूनी रूपमै विवाह गर्ने उमेर २० वर्ष कायम गरी कार्यान्वयन सफलतातिर गइरहेको बताउनुभयो ।
महान्यायाधिवक्ता कार्यालयका सहायक न्यायाधिवक्ता उमङ्ग निरौलाले विवाह गर्ने उमेर, मताधिकार पाउने उमेर र नागरिकता पाउने उमेर फरक फरक भएकाले कानूनी जटिलता भएको बताउनुभयो ।
राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले हाल बालविवाह दर १३ प्रतिशतमा झरेको जानकारी दिनुहुँदै कानूनी व्यवस्थाकै कारण बाल विवाह घट्दो क्रममा रहेको बताउनुभयो ।

त्यसै गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बाल संरक्षण विकास शाखाका प्रमुख शान्तिराज प्रसाईँले सरकारले बालबालिका सम्बन्धी नीति बनाउन लागेको र त्यसमा बाल विवाहलाई प्रमुख आधार बनाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले विवाहको उमेर घटाएर बाल विवाहको सङ्ख्या घटाउन नसकिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्