तपाईँ सुन्दै हुनुहुन्छः

निजी विद्यालयको मनोमानीविरुद्ध वीरगन्जका अभिभावक आन्दोलित 

वीरगञ्ज । वीरगन्जमा रहेका निजी विद्यालयहरूको मनोमानीविरुद्ध स्थानीय अभिभावकहरूले आज जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । 

निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि, पाठ्यक्रम परिवर्तन लगायतका निर्णय खारेजीको माग गर्दै वीरगन्जमा सङ्गठित भएका अभिभावकहरूले आज प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन् । 

गत शनिबार भेला भएका अभिभावकहरूले निजी विद्यालयहरूको मनोमानी विरुद्ध चरणबद्ध आन्दोलन गर्ने भन्दै सन्दीप कुमार साहको संयोजकत्वमा अभिभावक सङ्घर्ष समिति गठन गरेका थिए । सोही समितिले आज १४ बुँदे माग सहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी ढकाल र मेयर सिंहलाई बुझाएको समितिका संयोजक सन्दीप साहले जानकारी दिनुभयो ।

साहका अनुसार ज्ञापनपत्र मार्फत उच्च अदालतको फैसला विरुद्ध निजी विद्यालयले गरेको शुल्क वृद्धि फिर्ता गर्नुपर्ने, हरेक वर्ष पाठ्यक्रम परिवर्तन गर्ने प्रवृत्ति रोक्नुपर्ने, धरौटी शुल्क लिने निर्णय खारेज गर्नुपर्ने, नयाँ भर्ना शुल्क नियमानुसार हुनुपर्ने, पोशाक अभिभावकले आफूखुसी पसलबाट किन्न पाउनुपर्ने, सबै निजी विद्यालयमा अभिभावक भेला गरी व्यवस्थापन समिति गठन गर्नुपर्ने लगायतका मागहरू पुरा गराउन पहल गरिदिन आग्रह गरिएको छ । 

नेपालको कानुन र अदालतको फैसलाविरुद्ध शुल्क वृद्धि गरी असुल्ने निजी विद्यालयहरूलाई कारबाही गर्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ । 

ज्ञापनपत्र बुझेपछि प्रजिअ ढकाल र नगर प्रमुख सिंहले अभिभावकको मागहरू जायज भएकाले यसबारे विद्यालयका सञ्चालक, प्याबसन र एनप्याबसनसँग छलफल गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button