मधेश प्रदेशमा कृषि कर्जा प्रवाहमा व्यापक वृद्धि, ५० अर्ब लगानी
जनकपुरधाम । नेपाल राष्ट्र बैङ्कले मधेश प्रदेशका जिल्लामा सहुलियत कृषि कर्जा प्रदान गर्नमा बैङ्कहरूले आनाकानी गरेको गुनासो आएपछि कडाइ गर्दा कृषि कर्जा प्रवाह व्यापक मात्रामा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैङ्कको जनकपुरधाम स्थित कार्यालयका उप निर्देशक अशोक कुमार राईले कृषि कर्जा प्रवाह गर्न राष्ट्र बैङ्कले कडा निर्देशन दिएपछि मधेश प्रदेशमा ४२१ प्रतिशतले कर्जा प्रवाहमा वृद्धि भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई धनुषाले सहुलियतपूर्ण कृषि कर्जा तथा ब्याज अनुदानको विषयमा जनकपुरधाममा आयोजना गरेको अन्तरक्रियामा उप–निर्देशक राईले मधेश प्रदेशका जिल्लामा मात्र ५० अर्ब लगानी भएको जानकारी दिनुभयो ।
देश भरिमा वैशाखसम्ममा २ खर्ब ५६ अर्ब कृषि कर्जामा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूले लगानी गरेको जानकारी दिनुहुँदै कृषि कर्जाको सदुपयोग भएको छ कि छैन त्यसको अनुगमनलाई कसिलो बनाउन आवश्यक भएको नेपाल राष्ट्र बैङ्क जनकपुर शाखाका उप निर्देशक राईले जानकारी दिनुभयो ।
कृषि क्षेत्रको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न तथा कृषिबाट रोजगारी सृजना गरी देशको आर्थिक अवस्थालाई मजबुत बनाउन नेपाल सरकारले कृषि क्षेत्रमा विभिन्न समूहलाई लक्षित गरेर कृषि कर्जा प्रदान गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनुभयो ।
उहाँले अहिले नेपाल सरकारले शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमी कर्जा, व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा सहितका कर्जा सहुलियत ब्याजदरमा बैङ्कहरूले उपलब्ध गराउँदै आएकाले लाभ लिन आग्रह गर्नुभयो ।
सहुलियत कृषि कर्जा मधेश प्रदेशका ठूला स्तरका मत्स्य व्यवसायी, पशुपक्षी फार्म एवं कृषि फार्ममा कर्जा प्रवाह भए पनि निम्न तथा मध्यम वर्गका किसानसम्म पुग्न नसकेको कार्यक्रममा सहभागी साना किसानहरूले गुनासो गर्नुभयो ।
कार्यक्रममा कृषि पेशा तथा व्यवसायमा संलग्न रहेका ठूला, मझौला तथा साना किसान, बैङ्क तथा वित्तीय संस्थाका पदाधिकारी तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कर्मचारीहरूको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्