मधेश प्रदेशका तीन तहका सरकार सम्भावित प्राकृतिक विपद्को सामना गर्न जुटे

जनकपुरधाम । विगत वर्षभन्दा यस वर्ष मनसुनी वर्षा अत्यधिक मात्रामा हुने भएकाले बाढी पहिरो जस्ता प्रकृति विपद्को सम्भावनालाई मध्यनजर गर्दै मधेश प्रदेशमा सबै तहका सरकारले तयारी सुरु गरेको छ ।
सम्भावित प्राकृतिक विपद्लाई दृष्टिगत गरेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मधेश प्रदेशका प्राकृतिक विपद्को क्षेत्रमा कामकाज गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरूको सहभागितामा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम आज जनकपुरधाममा गरेको छ ।
सम्भावित विपद्बाट जोगिनका लागि गर्नु पर्ने पूर्व तयारी तथा प्राधिकरणले गरेको प्रयासको विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपद् साझा समस्या भएकाले यसबाट हुने जोखिमलाई न्यून पार्ने तथा समाधान गर्ने दायित्व सबैको भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यसचिव कृष्ण बहादुर राउतले प्राकृतिक विपद् जूनसुक्कै अवस्थामा आउने भएकाले तीन तहका सरकारसहित अन्य गैर सरकारी सङ्घ संस्था आम व्यक्तिको साझा प्रयासले मात्र यसबाट मुक्ति पाउन सकिने बताउनुभयो ।
उहाँले प्राकृतिक विपत्को व्यवस्थापन मानवीय सुखशान्ति तथा समृद्धिसँग जोडिएकाले यसको समाधान सामूहिक रुपमा नै गर्नका लागि सुझाव दिँदै प्रदेश सरकारले विपद्को सामना गर्नका लागि तयारी थालेको बताउनुभयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सम्भावित प्राकृतिक विपत्को सामना तीनै तहका सरकारले संयुक्त रुपमा गर्नु पर्ने धारणा राख्दै यसमा पनि स्थानीय तहको दायित्व बढी भएको बताउनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख सहसचिव हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल रेडक्रस धनुषाका सभापति नरेश प्रसाद सिंहले प्राकृतिक विपद्को समयमा नेपाल रेडक्रस आम जनता र स्थानीय प्रशासनको साथमा रहने गरेको बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, अभियानी एवं जनस्वास्थ्य विज्ञ अजय कुमार झा, प्रदेश सरकारका प्रतिनिधि प्रेमचन्द्र झा सहितका वक्ताहरूले विभिन्न प्रकारको राय सुझावहरू दिनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्राधिकरणका उप सचिवहरू डा. डिजन भट्टराई र ध्रुव बहादुरले प्राधिकरणले गरेको कामकाजका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्