मन्त्रीहरूलाई राष्ट्रियसभाको बैठकमा उपस्थित हुन अध्यक्षको रुलिङ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका विभागीय मन्त्रीहरूलाई तोकिएको समयमा राष्ट्रियसभाको बैठकमा उपस्थित हुन रुलिङ गर्नुभएको छ ।
राष्ट्रिय सभाको आजको बैठक सुरु हुनासाथ अध्यक्ष तिमिल्सिनाले विभागीय मन्त्रीहरूलाई तोकिएको समयमा बैठकमा उपस्थित भई सदन मार्फत जनताप्रति उत्तरदायी बन्न रुलिङ गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरू संसद्को बैठकमा उपस्थित भई आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अगाडि बढाउन सहयोग गर्नु तथा सदनमा उठेका प्रश्नहरूको जवाफ दिनु सम्बन्धित मन्त्रीहरूको संवैधानिक दायित्व रहेको बताउनुभयो ।
राष्ट्रियसभाको आजको बैठकमा कोभिड– १९ संकट व्यवस्थापन विधेयक २०८७ र रेल्वे विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ्ले पेश गर्नुभएको कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकमारी यादवले रेल्वे विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।
यस अगाडि बैठकमा विशेष समयमा बोल्दै सांसद जितेन्द्र नारायण देवले प्रमुख राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्रै नागरिकता विधेयक अगाडि बढाउन आग्रह गर्नुभयो ।
उहाँले नागरिकता विधेयक तयार पार्दा नागरिकका समस्याहरू समाधान हुने र देशको अस्तित्व सङ्कटमा नपर्ने दुवै पक्षमा ध्यान पु¥याउन राजनीतिक दलहरूसँग आग्रह गर्नुभयो ।
सांसद रामचन्द्र राईले नेपालका घरेलु उद्योगहरूलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
सांसदहरू सुरेश कुमार आलेमगर, विना पोखरेल लगायतले मनसुनजन्य प्रकोपबाट हुने धनजनको क्षति न्यूनीकरणका लागि विशेष कार्यक्रमहरू ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद राजेन्द्र लक्ष्मी गैरे, विमला राई पौडेल लगायतले मानसिक तथा शारीरिक रुपमा परिपक्व भएपछि मात्रै विवाह योग्य हुने कानुनी व्यवस्थाले मातृ–शिशु मृत्युदर घटाउन सहयोग पुगेको हुनाले महिलाको उमेर २० वर्ष उमेर पुगेपछि मात्रै विवाह योग्य हुने कानुनी व्यवस्था हटाउन नहुने बताउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक असार १२ गते आइतबार बिहान ११ः०० बजे बस्ने छ ।







प्रतिक्रिया राख्नुहोस्