तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा आजदेखि राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सुरु 

जनकपुरधाम ।  जनकपुरधाममा आजदेखि राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन २०७९ सुरु भएको छ ।

देशभरिबाट आएका युवा वैज्ञानिकहरूको सहभागिता रहेको सो सम्मेलनको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्नुभयो । 

राष्ट्रिय युवा परिषद्को आयोजना सुरु भएको युवा वैज्ञानिक सम्मेलनमा विज्ञान प्रविधिको विकास तथा युवा वैज्ञानिकहरूको अवस्था आदिको विषयमा बृहत् छलफल गरिने छ ।

राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री लालबाबु राउते मधेश प्रदेशमा प्रतिभाको कमी नभएको बताउँदै अहिले युवालाई अवसर प्रदान गर्ने आवश्यकता भएको बताउनुभयो ।

उहाँले मधेश प्रदेशका कैयन वैज्ञानिकहरूले देश विदेशमा नाम कमाइरहेको बताउँदै विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि सबै प्रकारको सहयोग गर्नका लागि प्रदेश सरकार तयार भएको बताउनुभयो ।

मुख्यमन्त्री राउतले विज्ञान प्रविधिको विकासमा राज्यको राम्रो लगानी नभएकाले देशका वैज्ञानिकहरू बिदेसिनु परेको बताउँदै देशमा नै अनुसन्धान र रोजगारी सहितको अवसर प्रदान गर्न आवश्यक भएको बताउनुभयो ।

मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंहले युवाहरूको प्रतिभाको पहिचान गर्न तथा अवसर प्रदान गर्नका लागि पहिलो पटक असार १५ र १६ गते युवा सम्मेलन गर्न लागेको बताउनुभयो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनले युवाहरूका बीचमा ज्ञान एवं सीपको आदान प्रदान हुने आशा व्यक्त गर्नुभयो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले विज्ञान तथा प्रविधिको विकास विना देशको समृद्धि हुन नसक्ने भएकाले सम्मेलनको सफलताको शुभकामना दिनुभयो ।

भोलिसम्म चल्ने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा देश तथा त्यसमा पनि मधेसका युवा वैज्ञानिकहरूको बढी सहभागिता रहेको राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button