तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय तीर्थयात्री बोकेको रेल पहिलो पटक जनकपुरधाममा 

जनकपुरधाम  ।रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ भारतको विभिन्न तीर्थस्थल हुँदै आज जनकपुरधाम आइपुगेको छ ।

मङ्गलवार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै आज दिउँसो पौने २ बजे जनकपुरधाम आइपुगेको हो । 

दुई देशको धार्मिक सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि ५ सय तीर्थयात्रीसहित सो भारतीय रेल जनकपुरधाममा पहिलो पटक आएको हो ।

जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेसनमा मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहलगायत विभिन्न सङ्घ संस्थाहरूले भव्य स्वागत गरेका थिए ।

रेल जनकपुरधाम आइपुगेपछि रेल्वे स्टेसनमा तीर्थालुहरु जय सीयाराम, जय श्रीराम सहितका नारा लगाएका थिए । 

भारत सरकारको भारत गौरव यात्रा अन्तर्गत आइपुगेका भारतीय तीर्थयात्रीहरू जनकपुरधाममा आज रात्रि विश्राम गरेर विभिन्न मठ मन्दिरमा पुगेर पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । 

यसैगरी जनकपुरधाममा प्रत्येक दिन साँझ हुने गरेको महागङ्गा आरतीमा सहभागी हुने कार्यक्रम रहेको छ ।

यसका साथै रामायण सर्किटसँग जोडिएका धनुषाको धनुषाधाम मन्दिरमा भोलि बिहान पुगेर पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । 

जनकपुर जयनगर ब्रोडगेज रेलको संरचना भारतीय रेल मार्गसँग जोडिएपछि पहिलो पटक भारतीय तीर्थयात्री बोकेको रेल जनकपुरधाम आइपुगेको र अव यो क्रम चलिनै रहने भारतीय अधिकारीहरूले बताएका छन् ।

वाल्मीकि रामायणमा वर्णित रहेको रामायणसँग सम्बन्धित नेपाल र भारतको विभिन्न स्थलहरूमा पुग्नका लागि रेल भारतबाट हिँडेर जनकपुरधाम आइपुगेको छ । रेल नजाने ठाउँमा भारत सरकारले नै बस सेवाको व्यवस्थापन गरेको छ ।

भारी सङ्ख्यामा भारतीय तीर्थयात्रीहरू रेलमार्फत नेपाल आउन थालेपछि जनकपुरधाम क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने विश्वास जनकपुरधामका पर्यटन व्यवसायीले गरेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button