जनकपुरधाममा युवा महोत्सव आयोजना हुने
जनकपुरधाम । मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा असार १५ र १६ गते “समुन्नत मधेश प्रदेशको साझा अठोट” भन्ने मूल नारासहित पहिलो पटक युवा महोत्सवको आयोजना हुने भएको छ ।
मन्त्रालयले युवा महोत्सवको विषयमा जानकारी दिने उद्देश्यले आज मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेशका युवाहरूको सीप र क्षमता पहिल्याउन, मधेशका सम्भावना, अवसर र चुनौतीका बारेमा सर्वपक्षीय विमर्श गर्नका लागि युवा महोत्सव गर्न लागेको जानकारी दिइयो ।

यसका साथै मधेश प्रदेशलाई देशकै विशिष्ट प्रदेश बनाउनका लागि पहलकदमी लिन आम युवालाई प्रेरित गर्न र मधेशका युवाहरूले गरेका उदाहरणीय कार्यहरूको प्रस्तुति गर्ने साझा मञ्चको रुपमा विकास गर्न युवा महोत्सवको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा मन्त्रालयका उपसचिव ठूलोबाबु दाहालले जानकारी दिनुभयो ।
मधेश प्रदेशका आठ जिल्लाका १ सय ३६ पालिकाको विधागत क्षेत्रका युवाहरूलाई सहभागी हुनका लागि पत्राचार गरिएको युवा महोत्सवमा मधेश मन्थन, मधेश जागरण तथा अभिमुखीकरण कार्यक्रम, मधेश हटिया तथा रोजगार लक्षित जानकारी स्थल, सांस्कृतिक साँझ, मधेश मान वितरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घमा आयोजना हुने महोत्सवमा मधेशका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने युवा उद्यमी, स्वरोजगारमा रहेर उदाहरण बनेका युवाहरू तथा अन्य युवाहरू गरेर करिब एक हजार युवाहरू महोत्सवमा सहभागी हुने विश्वास मन्त्रालयको रहेको छ । युवा महोत्सवको समापन कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्ने र उपलब्धिहरूको समीक्षा गर्ने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले युवा महोत्सवले युवाहरूको क्षमता, ज्ञान तथा सीपको पहिचान एवं विकासमा ठूलो मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो ।
उहाँले प्रदेशको समृद्धि एवं विकास युवाहरूको काँधमा भएकाले युवाहरूको समग्र अधिकार, कर्तव्यबोध तथा आफू भित्रको क्षमता पहिचान गराउनका लागि सहयोग पुग्नुका साथै महोत्सवले युवाहरूले भोग्नुपरेको समस्या तथा समाधानका विषयमा बृहत् छलफल हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्