जितपुरसिमराका दुई वटा सामुदायिक विद्यालयहरूलाई विद्यार्थीहरूसँग रकम नअसुल्न अदालतको आदेश
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको दुई वटा माध्यमिक विद्यालयलाई अदालतले विभिन्न बहानामा विद्यार्थीहरूसँग रकम नअसुल्न आदेश दिएको छ ।
आदेश दिएका विद्यालयहरूमा नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलिया र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा रहेका छन् । असार ६ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश प्रेमराज ढकाल र सीताराम मण्डलको संयुक्त इजलासले यस्तो अन्तरिम आदेश दिएको हो ।
कानुन प्रतिकुल हुने गरी विद्यार्थी भर्ना गर्दा, पढाई सञ्चालन गर्दा मासिक शुल्क निवेदनको अन्तिम टुङ्गो नलागेसम्मको लागि नलिनु भनी आदेश दिएको हो । कानुन विषय अध्ययनरत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ का २६ वर्षीय विद्यार्थी अभिनय गुप्ताले विद्यालयहरूले उठाउने गरेको चर्को शुल्कको बिरोध गर्दै उच्च अदालत वीरगंजमा निवेदन दिएका थिए ।
विद्यालयहरूको तर्फबाट अधिवक्ता हरिकृष्ण अधिकारी, उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता दामोदर पौडेल, मधेश प्रदेश मुख्यमन्त्रीको तर्फबाट अधिवक्ता सुनिल कुमार यादवले बहस गर्नुभएको थियो भने निवेदक विद्यार्थीले आफ्नो तर्फबाट स्वयम बहस गरेका थिए ।







प्रतिक्रिया राख्नुहोस्