लागु औषधमा नफस्न विद्यार्थीलाई सचेत गराउँदै भोजपुर प्रशासन

भोजपुर । यातायातको पहुँचसँगै पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार हुने गरेको पाइन थालेपछि जिल्ला प्रशासन कार्यालय भोजपुरले विद्यालय स्तरमा नै विद्यार्थीहरूलाई त्यस्तो कुलतमा नफस्न सचेत गराएको छ ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले जिल्लाको यातायातका साधनको पहुँचसँगै सवारीका चालक र सहयोगीहरूबाट समेत अवैध रुपमा लागु औषधका सामाग्रीहरू ओसारपसारका घटनाहरू हुन थालेको बताउनुभयो ।
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको सप्ताहव्यापी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज जिल्ला सदरमुकाममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजना गरिएको अभिमुखीकरणमा बोल्नुहुँदै प्रजिअ कोइरालाले विद्यार्थी स्तरमा नै कुलतमा फसिने हुनाले सजग र सचेत रहन विद्यार्थीहरूलाई आग्रह समेत गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी राजकुमार राईले सबैभन्दा बढी प्रभावित विद्यालय तहका विद्यार्थीहरू नै हुने भएकाले यसतर्फ विद्यार्थीहरू समेत सचेत हुनुपर्ने बताउनुभयो ।
जिल्ला भित्रका केही विद्यालयहरूमा समेत लागु औषध सेवन हुने गरेको पाइएकाले त्यसको नियन्त्रणमा नेपाल प्रहरी सधैँ लागि परेको बताउनुभयो ।
गैर सरकारी संस्था महासङ्घसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अभिमुखीकरण कार्यक्रममा जिल्ला भित्रका ५ विद्यालयका ६० जना विद्यार्थीका साथै अन्य सरोकारवालाहरूको सहभागिता रहेको महासङ्घका सचिव खगेन्द्र खडकाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अवदेश कुमार यादवले सहभागीहरूलाई लागु औषध, सेवनबाट हुने हानी, बच्ने उपाए, कानुनी प्रावधान लगायतका विषयमा सहजीकरण गर्नु भएको छ ।
प्रशासनले जिल्लाका अन्य विद्यालयहरूमा समेत लागु औषधका विषयमा अभिमुखीकरण गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्