‘ठूलो जनसङ्ख्यालाई पछाडि पारेर मुलुकलाई समृद्धिको यात्रामा लान सकिँदैन’
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनतालाई आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा सबल नबनाएसम्म मुलुकको विकासले अपेक्षित रुपमा फड्को मार्न नसक्ने बताउनुभएको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार भएर प्रतिस्पर्धा गर्नुभएका बलराम महतोलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष यादवले ठूलो जनसङ्ख्यालाई पछाडि पारेर मुलुकलाई समृद्धिको यात्रामा लान नसकिने बताउनुभयो ।
उहाँले विगतमा भएका हरेक परिवर्तनको आन्दोलनमा तत्कालीन मधेसी जनअधिकार फोरम र अहिलेको जनता समाजवादी पार्टीको ठूलो योगदान भएकाले पार्टीप्रति अहिले पनि जनताको आकर्षण रहेको बताउनुभयो ।
अध्यक्ष यादवले अहिले स्थापित भएको सङ्घीय प्रणाली अधिकार सम्पन्न भइनसकेको बताउँदै प्रदेशलाई केन्द्रको इकाइको रुपमा नभई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले अहिलेको निर्वाचन प्रणालीका कारणले धेरै विकृतिहरू आएको बताउँदै निर्वाचन प्रणालीमा सुधार गरी राजनीतिक प्रणालीमाथि भइरहेको षड्यन्त्र चिर्न आवश्यक भएको बताउनुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निर्माणको क्षेत्रमा ख्याति कमाएका निर्माण व्यवसायी महतोको पार्टी प्रवेशले पार्टीमा थप शक्ति प्राप्त हुने आशा व्यक्त गर्नुभयो ।
जनता समाजवादी पार्टी नेपाल धनुषाका जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको कार्यक्रममा नवप्रवेशी बलराम महतो, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगर प्रमुख लालकिशोर साह सहितका वक्ताहरूले बोल्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्