बैतडीमा चार दिनका लागि विद्युत् सेवा बन्द

बैतडी। बैतडीमा चार दिनका लागि विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ गते सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । विद्युत् सबस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।
उहाँले भन्नुभयो, “जिल्लामा नयाँ विद्युत् सबस्टेशन राख्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने लागेको हो । मर्मत तथा नयाँ सबस्टेशन राख्न चार दिन नै लाग्ने अनुमान छ, त्यसैले उक्त अवधिमा विद्युत् सेवा अवरुद्ध हुन्छ ।”
सबस्टेशन पुरानो हुँदा बेलाबेलामा विद्युत् सेवा अवरुद्ध हुने गरेको र अब त्यस्तो नहोस् भन्नका लागि सबस्टेशन नयाँ राख्ने प्रक्रिया सुरु भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । सोमबार बिहान ७ बजेदेखि नै प्राविधिक कर्मचारी मर्मतका लागि खटिने भएकाले बिहानैदेखि विद्युत् सेवा अवरुद्ध हुनेछ ।
यद्यपि वैकल्पिक लाइनमार्फत विद्युत् सेवा पुनः सञ्चालन गर्न उपाय खोजिराखेको भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भव भयो भने दिउँसोको केही घण्टा सेवा दिन्छौँ तर काम सुरु भएपछि मात्रै यो कुरा थाहा हुन्छ ।” विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति विद्युत् प्राधिकरणले क्षमासमेत मागेको छ ।








प्रतिक्रिया राख्नुहोस्