तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग गृहमन्त्री खाणको भेटघाट

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाणले भेटघाट गर्नुभएको छ ।

एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा गृह सचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी हुनुहुन्थ्यो । भेटमा अध्यक्ष नेपाल र पार्टीका नेता सोमप्रसाद पाण्डे सहभागी हुनुहुन्थ्यो ।

भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा छलफल भएको छ ।

‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयास स्वरूप गृहमन्त्री खाणले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको हो ।’ छलफल सकारात्मक भएको गृह सचिव पाण्डेले बताउनुभयो ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । त्यसकै लागि गृहमन्त्री खाणले सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाललाई भेट्नुभएको हो ।

गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गर्नुभएको छ ।

उहाँले यसअघि प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नागरिकता विधेयक सदनमा दलीय सहमतिमा पेस गर्न सहमति जुटाउनका लागि भेटघाट गरिसक्नुभएको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अङ्गीकृत नागरिकता लगायतमा दलहरूबिच सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button