तपाईँ सुन्दै हुनुहुन्छः

नगरपालिकाको प्राथमिकता मानवीय सेवा

दोलखा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील उज्यालो भविष्य संस्थाको चौथो वार्षिक साधारण सभाले पुनः राजन बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । 

समितिको उपाध्यक्षहरूमा कृष्णकुमारी जोशी र लक्ष्मी थापा, महासचिव निर्जला आचार्य सचिव सिर्जना श्रेष्ठ र कोषाध्यक्ष शकुन बस्नेत चयन हुनु भएको छ । सदस्यहरूमा राम ओली, प्रकाश बस्नेत, ईश्वर विश्वकर्मा, भरत बस्नेत, सुशीला श्रेष्ठ र अम्बिका सुवेदी चयन हुनु भएको छ । 

शनिवार संस्थाको साधारणसभाको उद्घाटन गर्नुहुँदै भीमेश्वर नगरपालिकाको नगरप्रमुख ईश्वर नारायण मानन्धरले भौतिक विकास नियमित प्रक्रिया भएको उल्लेख गर्नुहुँदै नगरपालिकाले मानवीय सेवालाई विशेष प्राथमिकता दिएर काम गर्ने बताउनु भयो । 

संस्थाका अध्यक्ष राजन बस्नेतको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, नेपाल वार एसोसिएसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, महिला अधिकारकर्मी गीता शिवाकोटी, संस्थाका उपाध्यक्ष भरत बस्नेत, सचिव निर्जला आचार्य, कोषाध्यक्ष दिनेश चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । 

साधारण सभाको अवसरमा पत्रकार दिपक बस्नेतलाई नागरिक सचेतना पत्रकारिता पुरस्कार, भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटीलाई  सामाजिक युवा पुरस्कार र जिल्ला अस्पताल जिरीका प्रमुख डाक्टर देवेन्द्र गौतमलाई उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button