तपाईँ सुन्दै हुनुहुन्छः

वालिङ नगरपालिकाद्वारा बृहत् निःशुल्क प्रजनन स्वास्थ्य शिविर

वालिङ । वालिङ नगरपालिकाले बृहत् निःशुल्क प्रजनन स्वास्थ्य शिविरको आयोजना गरी गाउँघरमै स्वास्थ्य सेवा प्रवाह गरेको छ । 

आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका महिलाहरू टाढा टाढा अस्पतालमा गई स्वास्थ्य जाँच गराउन नसकिरहेका बेला नगरपालिकाले ग्रामीण स्तरमै प्रजनन स्वास्थ्य शिविर तथा महिलाहरूको पाठेघरको क्यान्सर स्क्रिनिङ आङ खस्ने समस्या यौन रोग तथा आँखा जाँच शिविरको आयोजना गरेको हो । 

वालिङ १० मा आयोजित शिविरको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारीले उद्घाटन गर्नुभएको हो । 

उद्घाटनका क्रममा मन्त्री अधिकारीले महिलाहरू आफ्नो स्वास्थ्यमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले दूर दराजमा रहनुभएको महिलाहरूमा अझै पनि रोग लुकाएर बस्ने समस्या रहेकाले महिलाहरूमा स्वास्थ्य सचेतनाको विकास हुनुपर्ने जोड दिनुभयो । 

उहाँले गण्डकी प्रदेश सरकार नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेकाले सहज स्वास्थ्यको पहुँचमा पुर्‍याउन सरकार लागिपरेको बताउनुभयो । 

कार्यक्रममा उपप्रमुख कविता तिवारीले महिलाहरू स्वस्थ भए परिवार नै स्वस्थ हुने भन्दै शिविरको आयोजना गरी महिलाहरूलाई सहज स्वास्थ्यको पहुँचमा ल्याउने प्रयास गरेको बताउनुभयो । 

कार्यक्रम वडा अध्यक्ष सुशील खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव दिपेन्द्र गैह्रेले गर्नुभएको थियो । 

शिविरमा ११० जनाले आँखा जाँच गराएका छन् भने १३० जनाले पाठेघर सम्बन्धी सेवा लिएका छन् । आँखा जाँच गरिएका ११० जना मध्ये ४ जनाको मधुमेहको शल्यक्रिया गर्नुपर्ने भएकाले निःशुल्क हिमालयन अस्पताल पोखरामा लगिने जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । त्यस्तै पाठेघर सम्बन्धी जाँच गराएका महिलाहरू मध्ये ८ जनामा यौन रोग देखिएको छ । 

शिविरमा निःशुल्क, औषधी, चस्मा वितरण गरिएको थियो । नगर स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्यकर्मीहरूले सेवा दिएको शिविरमा डा.दिपक सुवेदीको नेतृत्वमा सेवा दिइएको हो । त्यस्तै आँखा शिविरमा डिस्ट्रिक्ट आई सेन्टरले प्राविधिक सहयोग गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button