तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानसेनापति शर्मा लेबनान प्रस्थान

काठमाडौँ । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति पुनर्स्थापना तैनाथ फौजको हौसला अभिवृद्धिका लागि प्रधानसेनापति प्रभुराम शर्मा आज लेबनान प्रस्थान गर्नुभएको छ । 

प्रधानसेनापति शर्मा नेतृत्वको सात सदस्यीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभयो । 

यही असार १० गतेसम्म भ्रमणका क्रममा टोलीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति पुनर्स्थापना नेपाली शान्ति सैनिक तैनाथ लेबनान र सिरियाको निरीक्षण भ्रमण गर्नुका साथै उक्त मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायत बारेमा जानकारी लिने कार्यक्रम छ । 

भ्रमणका क्रममा, प्रधानसेनापति शर्माले लेबनान र सिरियाका युएन मिसनका उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्नुहुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

लेबनान प्रस्थान गर्नु पूर्व प्रधानसेनापति शर्मालाई शुक्रवार जङ्गी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । 

उक्त निरीक्षण भ्रमणपश्चात् प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा यही असार (१३–१७) सम्म अमेरिका भ्रमण गर्ने कार्यक्रम छ । 

अमेरिकाको भ्रमण टोलीमा पाँच सदस्य सहभागी हुनुहुनेछ । उहाँको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुने बताइएको छ ।

प्रधानसेनापति शर्मा असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button