समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद बामदेव गौतमले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा कुनै पनि हालतमा नेपाल संलग्न नहुने बताउनुभयो । उहाँले राष्ट्रिय महत्त्वको विषयमा सरकार र दलहरूले राष्ट्रलाई गुमराहमा राख्ने कार्य गलत भएको बताउनुभयो । सांसद गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा आएर एसपीपी बारे जवाफ दिनुपर्ने सुझाव दिनुभयो ।
बैठकमा सत्तापक्ष नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीे आवश्यक नभएको भनेर नेपाली काँग्रेसले प्रष्ट पारिसकेकोले परराष्ट्र मामिलामा सबै दलहरू संवेदनशील भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद दिलकुमारी रावल पार्वतीले एसपीपी सम्बन्धी वास्तविकता सदनमा जानकारी गराउनुपर्ने माग गर्दै सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सत्तापक्ष नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति स्पष्ट भए पनि दलहरू परराष्ट्र नीतिप्रति गम्भीर नहुँदा समस्या भएको बताउनुभयो ।
बैठकमा सांसदहरुले सरकार फेरिए पनि परराष्ट्र नीति फेरिन नहुने, एक अर्काको विरोध गर्दा देशलाई बदनाम गर्ने गरी गर्न नहुने, राजनीतिक दलहरूले अपरिपक्वता व्यवहार देखाउँदा जनतामा निराशा छाएकाले दलहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
सांसदहरुले शैक्षिक सत्र सुरु भएको दुई महिना बितिसक्दा पनि पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्दा पनि सरकार गम्भीर नभएको, महिला हिंसा नियन्त्रण गर्न सबै दल एकजुट हुनुपर्ने, खेतीको समयमा मल चाहिन्छ भन्ने पहिला नै थाहा हुने भए पनि समयमै व्यवस्थापन नहुनु दुखद भएको बताउनुभयो ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्