‘एकीकृत समाजवादी पार्टी राष्ट्रव्यापी बन्न सफल भयो’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभएको छ ।
हालै भएको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिका–१५ मा विजयी उम्मेदवारलाई बधाई तथा स्थानीयवासीलाई आभार व्यक्त गर्न आयोजित कार्यक्रममा खनालले विद्रोहबाट गठन गरेको पार्टीले जनतालाई विश्वस्त पार्दै प्राप्त गरेको सफलताले अहिले पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका खनालले आगामी दिनमा देशभर सङ्गठनलाई विस्तार र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचनमा गठबन्धनले टिकट बाँडफाँटमा न्यायोचित मूल्याङ्कन गर्न नसक्दा आफ्नो दललाई सम्मान गर्न नसकेको र त्यसका कारण पार्टीलाई धेरै फाइदा नभएको विचार खनालले व्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्टीका सचिव जीवनराम श्रेष्ठले आगामी दिनमा जनप्रतिनिधिले जनताको भावना अनुसार स्थानीय पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्दै घोषणापत्रका विषयलाई कार्यान्वयन गराउन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । उक्त वडामा सो पार्टीको समूह नै विजयी भएको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्