तपाईँ सुन्दै हुनुहुन्छः

महामन्त्री शर्मामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

झापा । नेपाल पूँजीबजार लगानीकर्ता सङ्घ झापाले प्रधानमन्त्रीलाई आज पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ ।

नेपाली शेयर बजार कठिन मोडमा पुगेको भन्दै सङ्घले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मामार्फत प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

सरकार, राष्ट्र बैङ्क र सरोकारवाला निकायबिच समन्वय र सामञ्जस्यता नहुँदा शेयर बजार धरापमा परेको निष्कर्ष निकाल्दै सोको समाधानका लागि ज्ञापनपत्र बुझाइएको सङ्घका झापा अध्यक्ष कृष्ण कार्कीले बताउनुभयो ।

गृहनगर धुलाबारीमा ज्ञापनपत्र बुझ्दै महामन्त्री शर्माले समस्या समाधानका लागि पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । शेयर बजारलाई अनुत्पादक क्षेत्र भनेर टीकाटिप्पणी गरिँदा समस्या भएको उहाँको भनाइ छ । सरकारले शेयर बजारमा आकर्षण बढाउने नीति बजेटमा समावेश गरेको उल्लेख गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैङ्कका गभर्नरसँग छलफल गरेर समस्या समाधानको मार्ग प्रशस्त गर्ने आश्वासन समेत दिनुभयो ।

सङ्घले बुझाएको ज्ञापनपत्रमा राष्ट्र बैङ्कद्वारा शेयर कर्जामा लगाइएको ४–१२ करोडको क्याप हटाइनुपर्ने, शेयर कर्जाको जोखिम भार १५० बाट १०० कायम गरिनुपर्ने, बैङ्क तथा वित्तीय संस्थालाई शेयर कारोबारमा लगाइएको प्रतिबन्ध फुकुवा गरिनुपर्ने, बैङ्कलाई ब्रोकर लाइसेन्स र ब्रोकरलाई शाखा खोल्न अनुमति दिइनुपर्ने, काठमाडौँमा आन्दोलनरत पूँजीबजार लगानीकर्ता सङ्घ–सङ्गठनका नेतृत्वसँग वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गरिनुपर्ने लगायतका माग उल्लेख छन् ।

सङ्घका महासचिव रमेश लुइँटेलले झापामा मात्रै पाँच लाख जना लगानीकर्ता रहेको जानकारी दिनुभयो । सङ्घले लगानीकर्तालाई सुकुम्वासी हुने अवस्थाबाट जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button