तपाईँ सुन्दै हुनुहुन्छः

‘सीमित स्रोत, साधनबिच सशस्त्र प्रहरीको कार्य उत्कृष्ट’

मुग्लिन । गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोत र साधनबिच पनि सशस्त्र प्रहरीले उत्कृष्ट कार्य गरिरहेको बताउनुभएको छ ।

चितवनको इच्छाकामना–४ स्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा आज गोताखोर तालिमको समापन कार्यक्रममा उहाँले सीमित स्रोत, साधनबिच पनि छोटो समयमै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयले सयौँ मानिसको ज्यान बचाउन सफल भएको बताउनुभएको हो ।

file photo

उहाँले आवश्यक स्रोत साधनका साथै प्रशिक्षकलाई थप सेवा–सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विपद् व्यवस्थापन शिक्षालयका लागि आवश्यक स्रोत साधन उपकरण, प्रशिक्षकलाई थप सेवा–सुविधा बढाउनुपर्ने देखिएको छ, त्यसका लागि मन्त्रालय र प्राधिकरणले आवश्यक कार्य गर्नुपर्छ ।”

गृहमन्त्री खाणले स्थापना कालदेखि नै सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले प्राकृतिक विपदमा नागरिकको जीवन रक्षा गर्नेजस्ता महत्त्वपूर्ण काम गर्दै आएकामा धन्यवाद दिनुभयो । साथै उहाँले कुरिनटारस्थित त्रिशूली नदीमा गोताखोर तालिमको डेमो र यस शिक्षालयमा रहेको ट्रमा सेन्टरको अवलोकन गर्नुभएको थियो ।

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले विपद् व्यवस्थापन कार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १० वर्षअघि स्थापना गरिएको यस शिक्षालयमा पेशागत तालिमका साथै विपद् व्यवस्थापन सम्बन्धी आधारभूत तालिम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । यसै सिलसिलामा राष्ट्रिय विपद् प्राधिकरणको सहयोगमा विपद् व्यवस्थापन तालिम आयोजना गरिएको उहाँको भनाइ छ । नेपालमा नदी, तालमा भइरहने विपदमा उद्धारका लागि गोताखोर परिचालन अपरिहार्य रहेको महानिरीक्षक अर्यालको भनाइ छ ।

राष्ट्रिय विपद् प्राधिकरण र सशस्त्र प्रहरी बल प्रधान कार्यालयबिचको सहकार्यमा सम्पन्न उक्त तालिममा २० सशस्त्र प्रहरीका जवान प्रशिक्षार्थीका रूपमा सहभागी भएका थिए । तालिम गत वैशाख २५ गतेदेखि सुरु भएको थियो ।

तालिमको समापन कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे, चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, अनुसन्धान निर्देशक हरिहर पौडेल, इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button