तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची बजारमा चोरीका घटना बढे, व्यवसायी आतङ्कित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रको मुख्य बजारको रुपमा रहेको मेलम्ची बजारका पसलहरूमा दैनिक जस्तै चोरी हुन थालेपछि स्थानीय तथा व्यवसायीहरू आतङ्कित बन्न थालेका छन् ।

शनिबार मात्रै मेलम्चीका दुई वटा पसलमा चोरी भएको छ । कच्ची घरमा सञ्चालन हुँदै आएको मसलन्द तथा फेन्सी पसलबाट केही नगद तथा जिन्सी सामान चोरी भएको पीडित व्यवसायी विक्रम भुसालको भनाई छ ।

बजार क्षेत्रको सुरक्षाको लागि राखिएको विभिन्न ठाउँका सिसिटिभी क्यामेराले काम नगर्दा पनि सम्बन्धित निकायले मर्मतको चासो नदिएको कारण चोरीको घटना वृद्धि भइरहेको स्थानीयको गुनासो छ ।

गत बुधवार मात्रै मेलम्चीको एक पसलबाट नगद २ लाख रुपैयाँ चोरी भएको थियो । घेवाको सामान किन्न मेलम्ची बजार आएका पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवाका सानुमाया तामाङको झोलामा राखिएको नगद २ लाख दिउँसै चोरी भएको थियो । पसलमा रहेको सिसिटिभी फुटेजमा कैद भएको भिडियो मार्फत चोरी गर्ने व्यक्ति देखिए पनि प्रहरीको सक्रियता नहुँदा बजारमा थप चोरीको घटना बढेको स्थानीयको भनाइ छ ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले चोरी गर्ने व्यक्तिको खोजी भइरहेको बताए पनि हालसम्म प्रहरीले अपराधीलाई पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button