तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालमा सञ्चालित ओटिटी सम्बन्धी ४ दिने तालिम सम्पन्न

काठमाडौँ । रेडियो नेपालले अनलाइन माध्यमलाई प्रभावकारी बनाउन सञ्चालन गरेको ४ दिने ओटिटी सम्बन्धी तालिम आज समापन भएको छ । 

रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा मङ्गलबारदेखि सुरु भएको तालिम दैनिक दुई सिफ्टमा चार दिन सम्म सञ्चालन भई आज समापन भएको हो । 

रेडियो नेपालको कार्यक्रम तथा समाचार महाशाखामा कार्यरत कर्मचारीहरूका लागि आयोजना गरिएको तालिमको सहजीकरण तथा प्रशिक्षण उपनिर्देशक रमेश पौडेलले गर्नुभएको थियो । 

समापन कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले ४ दिनसम्म चलेको तालिमले सहभागीहरूको दक्षतामा वृद्धि हुनुका साथै सिपको प्रयोगले अनलाइनलाई प्रभावकारी बनाउदै रेडियो नेपालको आम्दानी बढाउन समेत सहयोग पुग्ने बताउनुभयो । साथै रेडियो नेपाल ओटिटीमा जाँदै गरेको अवस्थामा जनतासामु गुणस्तरीय सेवा दिन समेत प्रभावकारी बन्ने बताउनुभयो ।

नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो एउटा ब्राण्ड भएकाले यस प्रकारको तालिमले रेडियो नेपालको अनलाइनको गुणस्तर कायम हुने र प्रभावकारी सेवा प्रदान गर्दै नेपालको अनलाइन माध्यमलाई प्रतिस्पर्धी बनाउँदै लैजान सहयोग पुग्ने बताउनुभयो ।  

त्यस्तै नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेलले श्रव्यदृष्य सामग्रीलाई थप प्रभावकारी बनाउँदै रेडियो नेपालको अनलाइनलाई प्रतिस्पर्धी बनाउन तालिम उपयोगी भएको धारणा व्यक्त गर्नुभयो । 

तालिमका प्रशिक्षक तथा सहजकर्ता रमेश पौडेलले तालिमको अवधि छोटो भएपनि छोटो समयमा सहभागीले धेरै सिकेको र उपलब्धिमूलक रहेको बताउनुभयो । सिकेको कुरालाई प्रयोग गरी रेडियो नेपाललाई उपलब्धिमूलक बनाउन आग्रह गर्नुभयो ।

समापन कार्यक्रममा सहभागीहरूका तर्फबाट ताराप्रसाद वस्ती, सोनिका लामिछाने र अर्जुन सापकोटाले आफ्नो धारणा राख्नु भएको थियो । उहाँहरूले छोटो समयमा धेरै नै सिकेको र तालिम एकदमै प्रभावकारी भएको बताउनुभयो ।

चार दिनसम्म दुई सिफ्टमा सञ्चालित तालिममा रेडियो नेपालमा कार्यरत करिब ५० जना कर्मचारीहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button