अछामका कारागार प्रमुख अनियमिततामा मुछिएपछि सरुवा
अछाम । १ लाख ५० हजार लिएर कैद मिनाहाको आरोप लागेका अछाम कारागारका जेलर धन बहादुर शाही सुरुवा हुनुभएको छ । सुरुवा भएर समेत ५ महिना देखि अछाम कारागारमा बसिरहेका जेलर शाही बुधवार नै रमाना लिएर मालपोत कार्यालय दैलेख जानुभएको हो ।
शाही ५ महिना पहिले जिल्ला मालपोत कार्यालय दैलेख सरुवा भएका थिए । सरुवा भएर पनि रमाना नलिई शाही जिल्ला कारागार अछाममा बसेका थिए । उहाँले गणतन्त्र दिवसको दिन कैद मिनाहा गरिदिने भनेर कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका जुम्ला तातोपानी ६ का हर्क रावल दम्पतीबाट १ लाख ५० हजार लिएका थिए । ७ बर्ष ११ महिना १८ दिन सजाय काट्न वाकी रहेका हर्क रावल र उहाँकी श्रीमती सरस्वती रावललाई ८ बर्ष ३ महिना कदै मिनाहा गरिदिन्छु भन्दै उक्त रकम लिएको सार्वजनिक भएको थियो ।
आफूहरूलाई कैद मिनाहा गरिदिने मिनाहा गरेबापत २ लाख मागेको तर पछि १ लाख ५० हजार दिएको हर्क रावलले बताउनु भयो । रावल आफन्तले जिल्ला कारागार अछामका सहयोगी रूपराज ढुङ्गानाको नाममा ग्लोबल आईएमी बैङ्कमा १ लाख र राष्ट्रिय वाणिज्य बैङ्कमा ५० हजार पठाएको समेत खुलेको छ।
आफ्नो खातामा १ लाख ५० हजार आएको कारागारका सहयोगी ढुङ्गानाले बताउनुभयो । यस अघि समेत कैदीहरूको पैसा आउने गरेको कैदीले भनेको ठाउँमा पठाइदिने गरेको रूपराजले बताउनु भयो ।
रावल दम्पतीले नै जुम्लाबाट पैसा आउदैछ, काठमाडौँ पठाइदिनू भनेकोले त्यसै अनुरूप गरिदिएको ढुङ्गानाले बताउनु भयो । कारागार प्रमुख हुँदा शाहीले कैदीलाई नाइके बनाइदिन्छु भन्दै असुली गर्ने गरेको, कारागारका कैदीलाई धम्काउने, सरुवा गरिदिन्छु भन्ने गरेको समेत स्रोतले बतायो।
शाही सुरुवा भएर दैलेख मालपोत गएपछि उनको ठाउँमा जिल्ला प्रशासन कार्यालय अछामबाट नायव सुब्बा अमर बहादुर धामीलाई जेलरको रुपमा पठाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्