सप्तरी जिल्ला बार एकाइको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदस्थापन

सप्तरी । उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले छिटोछरितो र प्रक्रिया सङ्गत फैसला गर्ने कुरामा कानुन व्यवसायीबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
सप्तरी जिल्ला बार एकाइको नवनिर्वाचित कार्यसमितिको बिहीबार शपथग्रहण तथा पदस्थापन समारोहमा शुभकामना व्यक्त गर्नुहुँदै न्यायाधीश भण्डारीले न्याय सम्पादनको प्रक्रिया तथा कानुन व्यवसायको हकहित संरक्षणमा बार एकाइले अझ सक्रियतापूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

अदालतबाट समन्वयात्मक ढङ्गले सँगै बस्ने र छलफल गर्ने काम हुने प्रतिबद्धता व्यक्त गर्नुहुँदै उहाँले नयाँ कार्यसमितिको कार्यकाल ऐतिहासिक हुने शुभकामना व्यक्त गर्नुभयो ।
जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीले २ वर्षमा साढे १२ सय मुद्दा थन्किएकोमा दुख व्यक्त गर्नुभयो । पक्ष र विपक्षको सहयोग बिना न्यायपालिका एक्लैले मुद्दा टुङ्गो लगाउन नसक्ने भन्नुहुँदै उहाँले २०७१ सालदेखिका मुद्दा थाँती रहेको बताउनुभयो ।
कोभिड र अदालत ठप्प पारेर कानुन व्यवसायीहरूले चलाएको आन्दोलनका कारण केही समस्या भएपनि मूलतः मुद्दाका दुवै पक्ष वा कुनै एउटा पक्षले मुद्दा हटाए पछि न्यायाधीशले फैसला गर्नै नसक्ने बाध्यता सुनाउनु भयो ।
कानुन व्यवसायीहरूले मञ्च र फोरममा नाम नतोकेर बिचौलिया छ भन्ने तर गोप्य रुपमा समेत नाम भन्न कोही तयार नहुने अवस्थाले समस्या समाधान नहुने उहाँले स्पष्ट पार्नुभयो । हामी मिले मात्र विकृति अन्त्य गर्न सकिनेमा उहाँको जोड थियो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले इमान्दारीपूर्वक पेशा निर्वाहका साथ गलत प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनु भयो । सामाजिक सद्भाव भएको समाज निर्माणमा हामी सबैको भूमिका आवश्यक रहेको उहाँले बताउनु भयो ।
निवर्तमान अध्यक्ष डोमन साहको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत बार एकाइका अध्यक्ष भरत यादव, पूर्व अध्यक्ष श्यामनारायण साह, जिल्ला अदालत बार एकाइका पूर्व अध्यक्ष रामकुमार यादव, सुरेन्द्र यादव, केशव दास, कृपानारायण यादव, वरिष्ठ अधिवक्ता देवनारायण यादव, रामप्रसाद साह, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, कानुन व्यवसायी महेन्द्रनारायण देव, ओमप्रकाश यादव, मिना देव, राजनारायण यादव, प्रमोद चौधरीलगायतकाले अदालतबाट छिटो फैसलासँगै कार्यान्वयनमा समेत जोड दिनुभयो ।
गत शनिबार भएको निर्वाचनमा रामप्रसाद चौधरी नेतृत्वको समावेशी प्रगतिशील समूहका सम्पूर्ण पदाधिकारी, सदस्य र पार्षद् निर्वाचित भएका थिए । प्रगतिशील समूहबाट अध्यक्षमा अधिवक्ता रामप्रसाद चौधरी, उपाध्यक्षमा फुलनारायण यादव, सचिवमा प्रमोदकुमार चौधरी, कोषाध्यक्षमा मनु खनाल विजयी हुनुभएको थियो ।
यसैगरी सदस्यहरूमा वीरबहादुर कडारी, वैद्यनाथ चौधरी, उमेशनारायण शरण, राजनारायण यादव, र रहमुल मन्सुरी निर्वाचित हुनुभएको थियो । सहसचिवमा समावेशी प्रगतिशील समूहकै किरण साह निर्विरोध निर्वाचित हुनुभयो ।
यस्तै केन्द्रीय पार्षदमा महेन्द्रप्रसाद देव, केशरलाल खंग, बिरेन्द्रप्रसाद चौधरी, कर्मचन्द्र चौधरी र हेमनारायण चौधरी निर्वाचित हुनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्