दुई विधेयक छलफलका लागि समितिमा
रुपन्देही । लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशनको सातौँ बैठकमा लामो समयदेखि दर्ता भएर पनि छलफल हुन नसकेका दुई विधेयक छलफलका लागि अगाडि बढेको छ ।
बिहीबार बसेको बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको हो ।
विधेयक समितिमा पठाइयोस् भनी सभामा निर्माणार्थ प्रस्तुत गर्दा दुई वटै विधेयकमाथि दफावार छलफलका लागि स्वसहमतिले स्वीकृत भएको थियो ।
समितिमा पठाउनुअघि विधेयकलाई प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री तिलकराम शर्माले दुई वटै विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुभएको थियो ।
अब यी दुई वटै विधेयक समितिमा छलफल भएपछि मात्र सभामा पेश हुनेछ ।
त्यस्तै, सरकारले बुधवार ल्याएको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथिको छलफल शुक्रवारदेखि सुरु हुने भएको छ ।
सभामुख पूर्णबहादुर घर्तीले बुधवार आएको नीति तथा कार्यक्रममा संशोधन पेश गर्न चाहने दल वा सांसदलाई शुक्रवार बिहान ११ः०० बजेसम्म संशोधन सचिवालयमा दर्ता गर्न समय दिनुभएको छ ।
प्रदेशसभाको अर्को बैठक शुक्रवार १२ः०० बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्