तपाईँ सुन्दै हुनुहुन्छः

चार मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक,२०७९ को चार मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफल जारी छ । 

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल भइरहेको छ । 

छलफलमा सांसदहरू डा.सूर्य प्रसाद पाठक, डा.भीम बहादुर रावल, नवराज सिलवाल, यज्ञराज सुनुवार, प्रेम सुवाल र दुर्गा पौडेलले “विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयहरूका शीर्षकको खर्च रकममा खर्च कटौतीको प्रस्ताव राख्नुभएको छ । 

यसअघि, बैठकको सुरु भए लगत्तै सांसद हृदयेश त्रिपाठीले वर्तमान विनियोजित बजेटले लक्ष्यमा पुग्न नसकिने बताउँदै कृषकलाई मल उपलब्ध नगराउने र सीमा क्षेत्रमा नेपाल प्रहरीले नै दुःख दिने गरेको बताउनुभयो । 

उहाँले बर्दियामा बाघबाट बचाउन माग गर्नेलाई गोली हानेर मारिएको भन्दै प्रहरी प्रशासनको आलोचना गर्दै सीमा क्षेत्रमा घुमुवा प्रहरीले भ्रष्टाचारका लागि दलाल र बिचौलियाको काम गरेको भन्दै त्यसलाई हटाउन माग गर्नुभयो । 

सांसद कृष्णकुमार राईले वर्तमान सरकार काठमाडौँको फोहोर व्यवस्थापनमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाउनुभयो ।

यसैगरी सांसद गणेश सिंह ठगुन्नाले दार्चुला जिल्लाको शैलेसिगा गाउँपालिका वडा नं. १ की एकल महिला अनिभा खडायतलाई कुकृत्य गरी खरको थुप्रोमा राखेर जलाई मारेको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो । 

यस्तै, शून्य समयमा सांसदहरुले कृषकले मल समयमा पाउन नसकेको, महिला हिंसा बढ्दै गएकोप्रति सरकार संवेदनशील बन्न नसकेको, तराईका जिल्लामा भएका मिटरव्याजी आतङ्क बढेको, बाढि पहिराबाट हुने क्षति कम गर्न र राहत वितरणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

यस्तै सांसदहरुले  पाठ्यपुस्तक अभाव, मूल्यवृद्धि, मल अभाव, कञ्चनपुरमा भू माफियाले सरकारी जग्गा हत्याउने प्रयास गरिरहेको, निजी अस्पतालको अनुगमन हुन नसकेको, पीडितले न्याय पाउन नसकेको, त्रिविमा भएको तालाबन्दी, जातीय विभेद, ट्राफिक व्यवस्थापन, रणनीतिक सडकको निर्माण शीघ्र रपमा अघि बढाउनु पर्ने लगायतका विषय उठाउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button