‘वर्षेनी बजेट छुट्टयाइए पनि खेतीका समयमा मल अभाव हुनु दुखद’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल जारी छ ।
छलफलमा भाग लिँदै सांसदहरुले किसानका लागि रासायनिक मलका लागि वर्षेनी बजेट छुट्टयाइएपनि खेतीका समयमा मल अभाव हुनु दुखद भएको भन्दै नेपालमै मलको कारखाना खोल्न आग्रह गर्नुभयो ।
सांसदहरुले अलैँची खेतीलाई प्रोत्साहन गर्नुपर्ने, स्थानीय तहमा रिक्त जनशक्ति चाँडो परिपूर्ति गर्नुपर्ने, वैचारिक बहसका लागि रेडियो नेपाल र नेपाल टेलिभिजनका लागि बजेट छुट्टयाउनुपर्ने, महिलालाई आत्मनिर्भर बनाउने घरेलु उद्योगहरूलाई बजेट छुट्टयाउनुपर्ने, जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र बनाउनुपर्ने माग गर्नुभयो ।
सांसदहरुले पूर्वाधार विना नै यातायातमा इम्बोष्ड नम्बर राख्न उर्दी दिएको आरोप लगाउँदै उहाँहरूले सवारी चालक अनुमति पत्र लिन समेत सर्वसाधारणले सास्ती खेप्नुपरेको धारणा व्यक्त गर्नुभयो ।
हेटौँडा कपडा उद्योगले उत्पादन गरेको लुगा लगाउन बजेटले प्रेरित गरेको भन्नुहुँदै सांसदहरुले बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरू प्रेम सुवाल, दुर्गा पौडेल, पद्माकुमारी अर्याल, विमला विक, लालबाबु पण्डित, गोकुल बास्कोटाले मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव राख्नुभएको थियो ।
बैठकमा आर्थिक वर्ष २०७९÷/को विनियोजित बजेटमाथि कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयगत छलफल जारी छ ।







प्रतिक्रिया राख्नुहोस्