युवक हत्याको घटना छानविन गरी दोषीलाई कारबाही गर्न सभामुखको सरकारलाई निर्देशन

अछाम । पछिल्ला ३ दिन लगातार सङ्घीय संसदमा अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्नलाई कारबाहीको माग उठेपछि सभामुखले दोषीलाई पत्ता लगाई कारबाही गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।
बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभएको हो ।
आजको बैठकको विशेष समयमा सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले भन्नुभयो, ‘त्यहाँको प्रशासनले टेरेको अवस्था छैन, हत्यारालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छैन, मुद्दा दर्ता गरेको छैन, लासको पोष्टमार्टम गरेको छैन ।’

हत्या भएको ९ दिन जति भइसक्दा समेत शव उठ्न नसक्नु, जाहेरी नलिनु र दोषीलाई नखोजिनु दुःखद कुरा भएको सांसद बोगटीले बताउनु भयो । बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
‘माननीय सदस्यले उठाउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’ सभामुख सापकोटाले भन्नुभयो ।
सोमबार तथा मङ्गलवारको प्रतिनिधि सभा बैठकमा पनि उक्त घटनाबारे सांसदहरू भीम रावल, गगन कुमार थापा, यज्ञबहादुर बोगटी, रामबहादुर विष्ट लगायतले घटनाको सत्यतथ्य छानविन गर्न तथा दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गर्नुभएको थियो ।
मङ्गलवार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गरी पीडित पक्षको किटानी जाहेरी दर्ता गर्न, दोषीलाई पक्राउ गरी कारबाही अघि बढाउन मागसमेत गरेका थिए भने नेपाली काँग्रेसले पनि दोषीलाई कारबाही गर्न तथा अनावश्यक रुपमा आफ्नो पार्टीलाई घटनामा नजोड्न माग गरेको छ ।
घटनाको विरोधमा बुधवार सदरमुकाम मङ्गलसेन तथा विनायक बजार बन्द गरिएको छ भने स्थानीय तथा विद्यार्थीले प्रदर्शन समेत गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्