मधेस प्रदेश: सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु
जनकपुर । मधेस प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत गत जेठ २२ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

आज बसेको प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल भाग लिँदै प्रदेशसभाका सदस्यले सरकारको नीति कार्यक्रम स्वागतयोग्य रहेकाले सोहीअनुरूपको बजेट बनाउन सुझाव दिनुभयो । बैठकमा प्रदेशसभा सदस्य परमेश्वर साहले मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रममा समेटिएका कुरा सकारात्मक रहेको भन्दै त्यसको कार्यान्वयनमा शङ्का रहेको टिप्पणी गर्नुभयो ।
प्रदेशसभा सदस्य दिलीपकुमार साहले प्रदेश सरकारले ल्याएको नीति कार्यक्रममा राखिएको विषय स्वागतयोग्य रहेको भएको उल्लेख गर्नुहुँदै सिराहाको पर्यटकीय स्थललाई नीति तथा कार्यक्रम नसमेटिएकाले त्यसलाई पनि समेटिनुपर्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमलाई टेकेर बजेट विनियोजन गर्न आग्रह समेत गर्नुभयो ।
प्रदेशसभा सदस्य रामअशिष यादवले प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रदेशको समृद्धिका लागि कोसेढुंगा हुने दाबी गर्नुहुँदै विगतकै वर्षमा ल्याउनुपर्ने कतिपय विषय अन्तिममा भए पनि समेटिएको बताउनुभयो ।
आजको बैठकमा प्रदेशसभा सदस्य बच्चाराम अहिर, किशोरी साह (कमल), शिवचन्द्र चौधरी, मो समिम, जैनुल राइन, सत्यनारायण मण्डल, सरिताकुमारी साह, मदनसेन श्रीवास्तव, उपेन्द्र महतो, बबिता कुमारी, बाबुलाल साहलगायतले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषयवस्तु समेट्न सुझाव दिनुभयो ।
सरकारको नीति तथा कार्यक्रममाथि भोलि बस्ने प्रदेशसभा बैठकमा पनि प्रदेशसभा सदस्यले सुझाव राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीकुमार यादवले जानकारी दिनुभयो ।
संशोधन प्रस्ताव दर्ता
मधेस प्रदेशसभा बैठकमा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि प्रदेशसभाका पाँच जना प्रदेशसभा सदस्यले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।
प्रदेशसभा सदस्य बच्चाराम अहिर, परमेश्वर साह, दिलीपकुमार साह, सुन्दरबहादुर विश्वकर्मा र बाबुलाल साह (कानु) ले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । संशोधन प्रस्ताव दर्ता गराउनुभएकामध्ये प्रदेशसभा सदस्य बच्चाराम अहिर, परमेश्वर साह, दिलीपकुमार साह र बाबुलाल साह (कानु) ले प्रदेशसभामा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गरिसक्नुभएको छ भने प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले भोलिको बैठकमा संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
प्रदेश सञ्चार ऐन २०७७ संशोधन विधेयक पेश
मधेस प्रदेश सभाको आजको बैठकमा प्रदेश सञ्चार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक पेश भएको छ । बैठकमा प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सञ्चार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक पेश गर्नुभयो । प्रदेश सञ्चार ऐन २०७७ मा केही कुरा संशोधन गर्नुपर्ने र परिमार्जन गर्नुपर्ने भएकाले सो विधेयक पेश गरिएको मन्त्री साहले जानकारी दिनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्