तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समिति सल्यानको निर्वाचन जेठ २९ गते 

सल्यान । जिल्ला समन्वय समिति सल्यानको निर्वाचन आगामी जेठ २९ गते हुने भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार जेठ २९ गते  जिल्ला समन्वय समितिको निर्वाचन हुने भएको हो । 

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कुल प्रसाद पाण्डेले २९ गते  हुने निर्वाचनका लागि २४ गते मतदाता नामावली प्रकाशन, २५ गते उम्मेदवारी मनोनयन , २७ गते निर्वाचन चिन्ह प्रदान गरिने बताउनुभयो । 

सल्यान जिल्ला समन्वयको प्रमुख र उपप्रमुख गरी ९ सिटका लागि निर्वाचन हुँदै छ । जिससको निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुखले मात्रै मतदान गर्न पाउने व्यवस्था छ । 

सल्यानका १०  स्थानीय तह मध्ये नेपाली काँग्रेसले पाँच पालिकाको प्रमुख अध्यक्ष सहित ३ उपप्रमुख उपाध्यक्ष जितेको छ । काँग्रेसले  बागचौर, शारदा नगरपालिका, कुमाख, त्रिवेणी र सिद्ध कुमाख गाउँपालिकामा प्रमुख, अध्यक्ष गरी पाँच सिट जितेको छ भने शारदा, बनगाड कुपिण्डे नगरपालिका र त्रिवेणी गाउँपालिकामा उपप्रमुख, उपाध्यक्ष गरी ३ जितेको छ । 

यस्तै, माओवादीले बनगाड कुपिण्डे नगरपालिकामा प्रमुख र दार्मा गाउँपालिका अध्यक्ष जितेको छ भने बागचौर नगरपालिकामा उपप्रमुख, सिद्ध कुमाख र कपुरकोट, दार्मामा  उपाध्यक्ष जित हात पारेको छ । 

नेकपा एमालेले कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै जितको छ भने कुमाख गाउँपालिकामा उपाध्यक्ष जितेको छ । नेकपा (एकिकृत समाजवादी)ले कपुरकोट गाउँपालिकामा अध्यक्ष जितेको छ । 

१० स्थानीय तहका निर्वाचित प्रमुख उपप्रमुख गरी २०  मतदाता रहेका छन् । जसमा काँग्रेस ८, माओवादी ६, एमाले ५ र समाजवादी १ रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button