प्रतिनिधिसभामा समसामयिक विषयमा छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारण व्यक्त गर्नुभएको छ ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद लालबहादुर थापाले बाजुराका केही स्थानमा स्थानीय तहमा पुनः मतदान गराउने भनी गैरकानूनी निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्नुहुँदै त्यस क्षेत्रका जनता मतगणनाको पक्षमा रहेकाले तत्काल मतगणना कार्य सुरु गर्न माग गर्नुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रकी सांसद पूर्णकुमारी सुवेदीले बाँकेको राप्ती सोनारीकी किशोरीमाथि जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कार गरेको घटनामा संलग्न अपराधीलाई कडा कारबाही गर्न र पीडित किशोरीको जीवन सुरक्षा र संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद विमला विकले बर्दिया जिल्लामा जङ्गली जनावरको आतङ्क रोक्न सडक अवरुद्ध गर्दा प्रहरीले गोली चलाएर किशोरीको हत्या गरेकोप्रति भर्त्सना गर्नुहुँदै घटनाको छानबिन गर्न माग गर्नुभयो ।
गङ्गा चौधरी, खगराज अधिकारी, डा. भीमबहादुर रावल, सूर्यप्रसाद पाठक, यज्ञवहादुर बोगटी, लालबहादुर थापा, धनश्याम खतिवडा, शेरबहादुर तामाङ, विमला विश्वकर्मा, प्रेम सुवाल, गगनकुमार थापा, लगायतले सरकारको आदेश विना गोली चलाउने प्रहरीलाई तत्काल कारबाही हुनुपर्ने माग गर्नुभयो ।
पछिल्लो समय गम्भीर अपराधका घटना बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उहाँहरूले सरकारले नागरिकको जीवन रक्षा गर्न नसकेको आरोप लगाउनुभयो ।

समसामयिक विषयमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री बालकृष्ण खाँणले बाँके सोनारीको घटनामा संलग्न ७ जनालाई प्रहरीले गिरफ्तार गरी कारबाही प्रक्रिया अघि बढाएको जानकारी गराउनुभयो ।
मन्त्री खाँणले बलात्कृत किशोरीको साथी संस्थाको सेल्टरमा राखेर उपचार भइरहेको जानकारी दिनुहुँदै उक्त घटनामा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बर्दिया जिल्लामा ५ घण्टासम्म अवरुद्ध भएको राजमार्ग खुलाउने कोसिस गर्दा आक्रोशित भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा किशोरीको मृत्यु भएका प्रति दुख व्यक्त गर्नुहुँदै गृह मन्त्री खाणले सरकारले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्य छानविन समिति बनाएर अनुसन्धान गरिरहेको जानकारी गराउनुभयो ।
नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुहुँदै गृहमन्त्री खाँणले बर्दिया घटनामा आदेशबिना गोली चलाउने प्रहरीमाथि छानविन हुने पनि जानकारी गराउनुभयो ।
बर्दियालगायत ठाउँमा जङ्गली जनावरबाट नागरिकको जीवनमाथि प्रहार हुने घटना दोहोरिन नदिन सरकारले ठोस कार्य योजना बनाउन लागेको पनि गृहमन्त्री खाँणले जानकारी दिनुभयो ।
यौनहिंसाका घटनामा उजुरी दिने हदम्याद हटाउने विषयमा सरकार सकारात्मक रहेको बताउँदै मन्त्री खाँणले यस विषयमा कानून आयोगसँग परामर्श गरिरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्