तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कारका घटनाको सम्बन्धमा हदम्याद हटाउन सांसदहरूको माग 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि  सैद्धान्तिक छलफल भएको छ ।  

छलफलमा भाग लिँदै सांसद गगनकुमार थापा, सरिताकुमारी गिरी, प्रकाश रसाइली, चाँदतारा कुमारी, रेनुका गुरुङ, गङ्गा चौधरी, अमृता थापा, मीनबहादुर विश्वकर्मा, दुर्गा पौडेल, प्रेम सुवाल, पवित्रादेवी निरौला, बिमला विश्वकर्मालगायतले बलात्कारको घटनाको सम्बन्धमा हदम्याद हटाउनुपर्ने बताउनुभयो । 

उहाँहरूले यौनजन्य हिंसाका अपराधीहरूलाई कडा कारबाही हुने गरी कानून बनाउनुपर्नेमा जोड दिनुभयो । 

सांसदहरुले बलात्कारमा हदम्यादका कारण पीडितले न्याय नपाउने गरेको बताउनुभयो । 

छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले  यौनजन्य हिंसाका घटनाका अपराधीलाई कडा कारबाही हुने गरी कानून बनाउन सरकार लागिपर्ने बताउनुभयो । 

बैठकमा फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि पनि सामान्य छलफल भएको छ ।  

छलफलमा सांसदहरू सांसद पुष्पा भुषाल, डा.डिला सङ्ग्रौला, डा, बिन्दा पाण्डे, दुर्गा पौडेल, प्रेम सुवाल, कृष्णभक्त पोखरेल, प्रकाश रसाइली, मनकुमारी जिसी, डा.शिवमाया तुम्बाहाम्फे, रेनुका गुरुङ, लगायतले  फौजदारी कानून बनाउँदा पीडितलाई ध्यान दिनुपर्नेमा जोड दिनुपर्नेमा जोड दिनुभयो । 

छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले गम्भीर प्रकृतिको अपराधमा पीडितलाई सामान्य क्षतिपूर्तिले मात्रै अपुग हुने बताउनुहुँदै विधेयकमाथि विस्तृत छलफल गरिने जानकारी दिनुभयो । 

उहाँहरूले महिला र किशोरीमाथि एसिड आक्रमणका घटना अझै नरोकिएको भन्नुहुँदै एसिड आयात र विक्री वितरणमा कडाइ गरिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button