तपाईँ सुन्दै हुनुहुन्छः

सुन्दर सुदूरपश्चिम अभियानमा योगदान गरौँ : मन्त्री बडू

File Photo

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिमको सर्वाङ्गीण विकास गरी यस क्षेत्रलाई सुन्दर बनाउन सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 

सुदूरपश्चिम सरोकार मञ्चको ११औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विकास निरन्तर प्रक्रिया भएको तर यसमा कति गति दिइयो भन्ने कुरा महत्त्वपूर्ण हुने बताउनुभयो । सुप विकासको मूल प्रवाहमा पछि परेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस क्षेत्रबाट राज्य सञ्चालनको प्रमुख भूमिका हिजो पनि थियो र आज पनि छ, विकास निर्माणमा धेरै काम पनि भएका छन्, तर त्यो पर्याप्त होइन ।”

प्रजातन्त्रको पुनः स्थापनापछि सुदूरपश्चिम क्षेत्रमा तुलनात्मक बढी विकास भएको तथ्य उल्लेख गर्दै मन्त्री बडूले अझै गर्नुपर्ने पूर्वाधार विकास निर्माणका काम धेरै छन् भन्नुभयो । कञ्चनपुरको सिमानामा बन्ने सुक्खा बन्दरगाहको महत्त्वका बारेमा जानकारी गराउँदै उहाँले यसले व्यापारमा सुविधा बढाउने र लागत घटाउने बताउनुभयो । उहाँले योजना र बजेटमात्र भएर नहुने बताउँदै पुँजीगत खर्च गर्न नसकिए उद्देश्य हासिल नहुने बताउनुभयो ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री भीम रावलले अहिलेको बजेटमा धार्मिक र पुरातात्त्विक महत्त्वका गन्तव्यलाई पर्यटनसँग जोड्ने राम्रा कार्यक्रम भए पनि सुदूरपश्चिम प्रदेशका त्यस्ता क्षेत्रलाई उचित मात्रामा उल्लेख नगरिनु दुःखद भएको बताउनुभयो । उहाँले त्यस्ता कार्यक्रममा विशेषगरी खप्तड क्षेत्र छुटेको उल्लेख गर्दै बजेटमा समेट्न सरकारसँग आग्रह गर्नुभयो ।

पछाडि परेका सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पश्चिम सेती र माथिल्लो कर्णाली जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउनुपर्ने उहाँको सुझाव थियो । विकास निर्माणका हरेक कार्य पूर्वबाट प्रारम्भ हुने गरेकामा आगामी दिनमा सुदूरपश्चिमबाट प्रारम्भ गर्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्वमन्त्री एनपी साउँदले सुदूरपश्चिम विकासका सन्दर्भमा पछाडि परेको उल्लेख गर्दै प्रजातन्त्रको पुनः स्थापनापछि ढिलै भए पनि सडक सञ्जालको विकास भएको र शिक्षा, स्वास्थ्य सिँचाइलगायत क्षेत्रमा प्रगति भएको बताउनुभयो । यस क्षेत्रका धार्मिक र ऐतिहासिक महत्त्वका गन्तव्य धेरै भए पनि अपेक्षित सङ्ख्यामा पर्यटन भित्र्याउन नसकिएको उहाँको भनाइ थियो । सुदूरपश्चिमको विकास र समृद्धिका लागि केही कठिनाइ र चुनौती भए पनि सबैको प्रयत्नबाट त्यो सहजै सम्भव हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री गणेश ठगुन्ना, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल प्रहरीका पूर्व आइजिपी मोतिलाल बोहरा, मञ्चका अध्यक्ष विष्णुप्रसाद खत्रीलगायतले सुदूरपश्चिमको अवस्थाबारे चित्रण गर्दै विकासका लागि आफ्ना सुझाव दिनुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवाले मञ्चका सल्लाहकार शिवराज श्रेष्ठ मल्ललाई अभिनन्दनपत्रले सम्मान गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button