तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर गोल्डकप : एपिएफको सहज जित

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करण अन्तर्गत आइतबार बिहान भएको खेलमा नेपाल एपीएफ फुटबल क्लबले सहज जित निकालेको छ । हिजो भारी वर्षाका कारण स्थगित भएर आज बिहान खेलाइएको खेलमा नेपाल फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै एपीएफले सहज जित निकालेको हो । 

हिजो भारी वर्षाका कारण पिप्ले–क्याम्पा रङ्गशालाको खेल मैदान जलमग्न भएपछि खेल स्थगित भएको थियो । खेलको पहिलो हाफको २८ औँ मिनेटमा एपीएफका नवीन लामाले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 

दोस्रो हाफको ३१ औँ मिटेमा एपीएफका सविन गुरुङले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । खेलको अतिरिक्त समयमा एपिएफका रवि थिङले गोल गर्दै एपिएफलाई सहज जित दिलाए । खेलको म्यान अफ द म्याच एपीएफका प्रदीप लामा घोषित हुँदै नगद १० हजार पाएका छन् ।

प्रतियोगिता अन्तरगत आइतबार दिउँसो खुमलटार यूथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । १२ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button