जिल्ला समन्वय समिति जुम्लाको निर्वाचन जेठ २९ गते हुने

जुम्ला । जिल्ला समन्वय समिति जुम्लाको निर्वाचन आगामी जेठ २९ गते हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार जेठ २९ गते जिसस जुम्लाको निर्वाचन हुने भएको हो ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले २९ गते निर्वाचनका लागि २१ गते मतदाता नामावली प्रकाशन, २४ गते उम्मेदवारी गते, २७ गते निर्वाचन चिन्ह प्रदान गरिने बताउनुभयो ।
जुम्ला जिल्ला समन्वयको निर्वाचन निकै रोचक हुने देखिएको छ । जिससको प्रमुख र उपप्रमुख गरी ९ सिटका लागि निर्वाचन हुँदै छ । जिससको निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुखले मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।
जुम्लाका ८ वटा स्थानीय तह मध्ये नेपाली काँग्रेसले पाँच पालिकाको अध्यक्षसहित तीन उपाध्यक्ष जितेको छ । काँग्रेसले कनकासुन्दरी, हिमा, पातारासी, गोठिचौर र तातोपानी गाउँपालिकाको अध्यक्षमा जितेको हो भने हिमा, कनकासुन्दरी र चन्दननाथमा उपाध्यक्ष÷उपप्रमुख जित हात पारेको छ ।
यस्तै, माओवादीले सिँजा र तिलामा अध्यक्ष तथा सिँजा, तिला र तातोपानी र पातारासीमा उपाध्यक्ष हात पारेको छ ।
त्यस्तै, नेकपा एकिकृत समाजवादीले गोठिचौर गाउँपालिकामा उपाध्यक्ष तथा स्वतन्त्र उम्मेदवार राजुसिँह कठायतले चन्दननाथ नगरपालिकामा नगरप्रमुखमा जित्नुभएको छ ।
यसरी आठ स्थानीय तहका निर्वाचित प्रमुख उपप्रमुख गरी १६ जम्मा मतदाता रहेका छन् । जसमा काँग्रेस ८, माओवादी ६, समाजवादी १ र स्वतन्त्र १ जना गरी जम्मा १६ जना मतदाता छन् ।
मत सङ्ख्या अनुसार यो बर्ष नेपाली काँग्रेसले समन्वय प्रमुख लिने करिब पक्का देखिन्छ । यद्यपि बहुमत पुग्न काँग्रेसलाई १ मत आवश्यक छ । आवश्यक १ मत माओवादी, स्वतन्त्र वा समाजवादी कुनै एकले सहयोग गरेमा पुग्ने छ । तर काँग्रेसले १ मतका लागि कोसँग सहकार्य गर्ने भन्ने एकिन भएको छैन ।








प्रतिक्रिया राख्नुहोस्