पाँच दलीय गठबन्धनको औचित्य बाँकी छ: कांग्रेस महामन्त्री शर्मा
भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच दलीय गठबन्धनको औचित्य बाँकी रहेको बताउनुभएको छ ।
कांग्रेस भक्तपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा २ (ख) मध्यपुर थिमिले आज आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा महामन्त्री शर्माले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धनका दलबिच स्थानीय तह निर्वाचनको समीक्षाको आधारमा सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

सरकार चलाउँदा गठबन्धनको निश्चित सिद्धान्त र कार्यक्रम बनेको भन्दै महामन्त्री शर्माले नेपाली कांग्रेस ठुलो दल भए पनि अहङ्कारको बाटोमा नरहेको बताउनुभयो ।
काठमाडौँमा बालेन साह र धरानका हर्क साम्पाङको जीतबाट जनताले दलहरूमा रूपान्तरणको सन्देश दिएको उहाँको भनाई थियो ।
मधेसीको छोरो काठमाडौँमा मेयर, नेवारको छोरो मधेशमा मेयर भएको भन्दै शर्माले यसले समाजको अन्तरघुलन, समाजभित्रको ग्राह्यता र स्वीकार्यता बढेको पुष्टि गरेको बताउनुभयो ।
महामन्त्री शर्माले निर्वाचित जनप्रतिनिधिले थोरै बोल्ने, धेरै सुन्ने, केही गर्ने धारणासहित अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्