‘हजयात्रा व्यवस्थापनमा मोलाहिजा र अनियमितता गरिएको छैन’
काठमाडौँ । नेपाल हज समितिले हजयात्रा व्यवस्थापनमा कुनै पनि मोलाहिजा र अनियमितता नगरेको जनाएको छ ।
समितिले आज पत्रकार सम्मेलन गरेर हजायात्राका सम्बन्धमा अनावश्यक टीकाटिप्पणी भएका भन्दै सो टीकाटिप्पणीप्रति सचेत रहन अपिल समेत गरेको छ ।
पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष शमशेर मियाँले साउदी अरब सरकारले निर्धारण गरेको शुल्कमा भएको वृद्धिका कारण यस वर्षको हजयात्राको शुल्क वृद्धि भएको बताउनुभयो ।
उहाँले हजयात्राका सम्बन्धमा कुनै भ्रममा नपर्न र तोकिएको शुल्क रकम निर्धारित समयभित्र जम्मा गर्न आग्रह समेत गर्नुभयो । यस बर्ष प्रतिनिधिमण्डलसहित ५ सय ४८ नेपाली इस्लाम धर्मालम्बीहरु हजयात्रामा लैजाने गरी व्यवस्थापन भइरहेको समितिका अध्यक्ष मियाँले जानकारी दिनुभयो ।
समितिले हजयात्राका लागि यस बर्ष ४ लाख ६३ हजार ३९३ रुपैयाँ शुल्क निर्धारण गरेको छ । समितिले कोरोना महामारीका कारण अघिल्लो २ बर्ष हजयात्रामा लगेको थिएन भने सन् २०१९ मा २ लाख २९ हजार ७३१ रुपैयाँ शुल्क लिएर हजयात्रीलाई हजयात्राका लागि साउदी लगेको थियो ।
नेपाल हज समितिले नेपाली इस्लाम धर्मालम्बीहरुलाई प्रत्येक बर्ष हिजरी संवत् अनुसार १२ औँ महिनाको जिलहिज्जाको ८ देखि १२/१३ तारिखसम्म हजयात्रामा साउदी लैजाने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्