राष्ट्रिय सभा बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले पेश गर्नुभएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भएको छ ।
प्रस्ताव पेस गर्नुहुँदै सांसद दाहालले मूल्यवृद्धिले कष्टकर बनेको सर्वसाधारणको जनजीविकालाई सम्बोधन गर्न पेस गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा सत्ता पक्षका सांसदहरूको समेत समर्थन रहेको जानकारी दिनुभयो ।
बैठकमा सांसद भैरव सुन्दर श्रेष्ठले नेपाली जनताको आयस्रोतले धान्नै नसक्ने गरी मूल्य वृद्धि हुँदा सर्वसाधारणलाई असर परेको बताउनुभयो ।
बैठकमा सत्तापक्ष दल नेपाली काँग्रेसकी सांसद कमला पन्तले इन्धनमा १० रुपैयाँ मूल्य घटाएर क्षतिपूर्ति नहुने भन्नुहुँदै चुलो बाल्नतिर सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

सांसद खिमलाल देवकोटाले मूल्यवृद्धिको चाप कम आय भएका वर्ग र समुदायमा बढी परेको बताउनुहुँदै सरकारले पेट्रोलियम पदार्थलाई व्यापारिक वस्तुको रुपमा मात्रै लिएको आरोप लगाउनुभयो ।
सांसद जितेन्द्रनारायण देवले पेट्रोलियम पदार्थको मूल्य घटाउन भारतसँग छलफल गर्न सरकारलाई आग्रह गर्नुभयो ।
बैठकमा सांसद गङ्गाकुमारी बेल्वासेले इन्धनमा मूल्यवृद्धि भएका कारण अन्य उपभोग्य वस्तुमा महँगी बढेकाले सरकारले यथाशिध्र दैनिक उपभोग्य वस्तुको मूल्य घटाउनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरू डा. विमला राई पौड्याल, विमलाकुमारी घिमिरे, भगवती न्यौपाने, अनिता देवकोटा, राजेन्द्रलक्ष्मी गैरे, सुमित्र बिसी, सुरेशकुमार आलेमागर, दिलकुमारी रावल पार्वती, विमला राई पौड्याल लगायतले खाना पकाउने ग्याँस, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य वृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।
यस अघि बैठकमा सङ्घीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक वित्तीय, आर्थिक प्रशासनिक संरचनागत लगायत सबै पक्षको अध्ययन गरी राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्ने गरी सांसद खिमलाल देवकोटाको संयोजकत्वमा सांसदहरू डा. विमला राई पौड्याल, प्रकाश पन्थ, उदयबहादुर बोहोरा, प्रमीला कुमारी, मायाप्रसाद शर्मा र रामचन्द्र राई सदस्य रहेको संसदीय विशेष समिति गठन गरेको छ ।
समितिको कार्यावधि ४ महिना रहने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठकमा जानकारी गराउनुभयो ।
बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले खाना पकाउने प्रयोजनमा विद्युत्को प्रयोग बढाउने, बजार अनुगमन कार्यलाई नियमित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
बैठकमा मन्त्री बडूले वैकल्पिक ऊर्जाको खपत बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।
आजै राष्ट्रियसभामा यौन अपराधविरुद्ध उजुरी दिने हद म्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धमा सङ्कल्प प्रस्ताव पेश गरिएको छ ।
प्रस्ताव पेश गर्नुहुँदै सांसद कमला पन्तले गम्भीर अपराधका घटनामा हद म्याद बढाउन भनी सर्वोच्च अदालतले समेत पटक पटक परमादेश जारी गरेको स्मरण गराउनुहुँदै जघन्य अपरालाई सीमित दायराभित्र खुम्च्याउन खोज्नु संविधानतः नभएको बताउनुभयो ।
सांसद खिमलाल देवकोटाले महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसा गम्भीर अपराध भएको उल्लेख गर्नुहुँदै बलात्कारका मुद्दामा पीडितले हद म्याद हटाउन माग गर्नुभयो ।
बैठकमा सांसद डा. विमला राई पौड्यालले बलात्कारको अपराधमा हदम्यादका कारण एकपछि अर्को बलात्कार पीडितहरू न्यायबाट विमुख रहनुपरेको बताउनुभयो ।
बैठकमा सांसदहरू विमला घिमिरे, गङ्गा वेल्वासे, मदनकुमारी शाह (गरिमा),तुलप्रसाद विश्वकर्मा,शेखरकुमार सिंह, दिलकुमारी रावल(पार्वती। सुरेश आलेमगर, जयन्ती राई, उर्मिला अर्याल, भैरव सुन्दर श्रेष्ठ, सुमित्रा बिसी, गोमादेवी तिम्सिना, तुलसाकुमारी दाहाललगायतले प्रस्तावमाथि आफ्नो धारणा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्