तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य बिमा कार्यक्रम कम्पनीलाई दिने विषय पुनरावलोकन गर्नुपर्ने सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आज पनि जारी रह्यो । 

बैठकमा सांसदहरुले बजेट स्वागत योग्य रहेको भन्नुहुँदै बजेटले कृषिलाई प्राथमिकता दिँदै उत्पादन बढाउने तथा व्यापार घाटा घटाउने गरी सही दिशा समातेको बताउनुभयो ।  

सांसदहरुले स्वास्थ्य बिमा कम्पनीलाई दिने विषय पुनरावलोकन गर्नुपर्ने, बजेटले कृषि, पर्यटन, शिक्षा, खेलकुद, विद्युतीय चुल्हो वितरणलाई समेटे पनि कार्यान्वयन गर्ने निकायको क्षमता अभिवृद्धि गर्नुपर्ने, सरकारी स्कुलमा बजेट कम भएको, मंहगी नियन्त्रण गर्नुपर्ने, किसानलाई समयमै मल दिनुपर्ने, असार मसान्तमा मात्र पुँजीगत खर्च हुने क्रम रोक्नुपर्ने लगायतका धारणा राख्नुभयो । 

छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद गगन थापाले बजेटले स्पष्ट र उपयुक्त गति समातेको बताउनुहुँदै बजेटले विद्युतीय चुल्होमा वितरण, आयकर छुट, तलब वृद्धि र निजी क्षेत्रका समस्याको सम्बोधन गरेको बताउनुभयो । 

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले बजेट वितरणमुखी भएको, सीमाको समस्यालाई समेत सम्बोधन नगरिएको  टिप्पणी गर्नुहुँदै बजेट कार्यान्वयनमा आशङ्का व्यक्त गर्नुभयो । 

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणी पोखरलेले बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिएको, स्वास्थ्य र शिक्षाको गुणस्तरमा सुधारका योजनामा अघि सरेको  बताउनुभयो । 

बैठकमा सांसद राधा ज्ञवालीले नेपालको भूभाग, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेत समेटिसकेको भए पनि संरक्षण गर्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद विमला नेपालीले एक परिवार : एक रोजगार, शिक्षालाई सीपसँग सीपलाई रोजगारसँग जोड्नुपर्ने जरुरी भएको र दलित समुदायलाई जमिन उपलब्ध गराउने भनेको भए पनि त्यो कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

सांसद व्रिजेशकुमार गुप्ताले लुम्बिनीको सडक चार लेनको बनाउनुपर्ने सुझाव दिनुभयो । 

सांसद दामोदर भण्डारीले  बजेटमा युवा रोजगारमूलक कार्यक्रम नभएको, ठूलो पूर्वाधार निजी क्षेत्रलाई दिने कुरा गलत भएको र  बजेटले युवा, विद्यार्थी, दलितलाई नसमेटी कालोबजारीलाई सहयोग गरेको बताउनुभयो ।

सांसद प्रमिला राईले प्रभावकारी कार्यान्वयन हुन सकेमा बजेट राम्रो भएको र सुर्तीजन्य पदार्थको बारेमा सकेसम्म १०० प्रतिशत कर लगाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद नारदमुनि रानााले संविधानले समाजबादोन्नुमख स्वतन्त्र र आत्मनिर्भर मूलक अर्थतन्त्रको व्यवस्था भनिए पनि बजेट चुनावमुखी र वितरणमुखी रहेको बताउनुभयो ।

सांसद पार्वता डिसी चौधरीले बजेट राम्रो आएको र कार्यान्वयन प्रभावकारी हुन जरुरी भएको बताउनुभयो ।

सांसद विन्दा पाण्डेले उपसभामुखको निर्वाचन अविलम्ब गर्नुपर्ने माग गर्नुहुँदै अहिलेका युवापुस्ताले बजेटका शब्द शब्दमा आफ्नो भविष्य खोजिरहेको हुनाले बजेटमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

सांसद गङ्गा चौधरी सत्गौवाले बजेट चुनावमुखी भएको उल्लेख गर्नुहुँदै २५ जिल्लामा महिलालाई सुत्केरी भत्ता दिने सरकारले बजेटमा ल्याएको छ तर समान रुपमा ७७ जिल्लाकै महिलालाई सुत्केरी भत्ता दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद सुजाता परियारले नेपाली उत्पादनमा वृद्धि र स्वदेशी वस्तु र उत्पादन बढाउने खालको भएको, मुसहरसहित विपन्न आवास तथा जमिन दिने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

सांसद नवीना लामाले महँगी अत्यधिक बढेको, शिक्षा र स्वास्थ्यमा विभेद देखिएको, सामाजिक सुरक्षामा भत्ता दिँदा विपन्न र पछाडि परेकालाई दिँदा अझ राम्रो हुने बताउनुभयो  । 

सांसद नवराज रावतले कृषि क्षेत्रमा राम्रो बजेट आए तापनि किताबमा सीमित रहने र मल ल्याउने कुरामा बढी ध्यान दिनुपर्ने बताउनुभयो ।   

सांसद राजबहादुर बुढाले शिक्षाजस्तो महत्त्वपूर्ण विषयमा बजेट घटेको र विज्ञान र प्रविधिलाई आफ्नो बनाउन सकिएन भने मुलुकको स्वाधीनता पछाडि पर्ने सुझाव राख्नुभयो ।

सांसद जगतबहादुर विश्वकर्माले शोषण, उत्पीडित र दलित समुदायलाई माथि उठाउन बजेटमा रकम छुट्याउन सुझाव दिनुभयो ।

सांसद रेखाकुमारीले महँगी बढेको तर बजेटमा महँगी घटाउने विषयमा कुनै पनि कार्यक्रम नभएको उल्लेख गर्दै गरिबलाई अझ गरिब र धनीलाई अझ धनी बनाउने बजेट आएको बताउनुभयो ।

सांसद शान्तिमाया पाख्रिन तामाङले सरकारले महत्त्वाकाङ्क्षी बजेटमा ल्याएको र कार्यान्वयन हुनेमा कठिनाइ देखिएको सुझाव दिनुभयो ।

सांसदहरू शान्ता चौधरी र आशाकुमारी विकले बजेटमा आन्तरिक पुँजी वृद्धि र युवालाई रोजगार दिने योजना भएको बताउनुभयो ।

बैठकमा सांसद डा भीम रावलले देश आर्थिक सङ्कटमा परेका बेलामा अध्ययन नगरीकन बजेट आएको र कार्यान्वयनमा कठिनाइ हुने बताउनुभएको छ । 

उहाँले बजेटले समाजवादोन्मुख अर्थतन्त्रको व्यवस्थालाई अवलम्बन गर्न नसकेको पनि बताउनुभयो । 

प्रतिनिधिसभाको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सकिएको छ । 

छलफलमा उठेका प्रश्नको जवाफ भोलि अर्थमन्त्री जनार्दन शर्माले दिने कार्यसूची रहेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफल सकिएको र अर्थमन्त्रीले सो बारेमा उठेका सवालको जवाफ यही जेठ २० गते बस्ने बैठकमा दिने जानकारी गराउनुभयो । 

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २० गते ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button