तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली किसानहरूलाई जमिन खनजोत गर्न भारतीय सुरक्षाकर्मीको अवरोध  

कञ्चनपुर ।  कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० स्थित सडकघाटमा नेपाली किसानहरूलाई जमिन खनजोत गर्न भारतीय सुरक्षाकर्मीले अवरोध सृजना गरेका छन् । 

आफ्नो नाममा दर्तावाला जमिनमा खेतीपातीका लागि खनजोत गर्न गएका नेपाली किसानहरूलाई भारतीय सुरक्षाकर्मीले डर त्रास देखाउँदै धम्की दिएका छन् । बुधवार मात्रै पनि ट्याक्टर लिएर खेत जोत्न पुगेका बेलौरी नगरपालिका वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)को एक टोलीले खेतमै आएर जोत्न रोक लगाई त्यहाँबाट फर्काएको थियो । अन्य सर्वसाधारण किसानहरूलाई समेत भारतीय सुरक्षाकर्मीहरूले बेलाबेलामा डर त्रास देखाउने गरेको स्थानीयको भनाइ छ ।

भारतीय एसएसबीले गुगलमा नक्सा हेरी यो जमिन त भारतमा पर्छ भनेर अवरोध सृजना गर्ने गरेको बेलौरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सोमलाल चौधरीको भनाइ छ । 

भारतीय सुरक्षाकर्मीले भारतमा पर्ने भन्दै दाबी गर्ने गरेको उक्त जमिनको लालपुर्जा आफूसँग रहेको र दशकौँदेखि आफैँले कर समेत तिर्दै आएको हुँदा नेपाली लालपुर्जा भएको जमिन भारतमा कसरी पर्‍यो भन्दै जग्गाधनी नेपाली किसानहरूले प्रश्न गर्ने गरेका छन् । 

कञ्चनपुर जिल्लाका पुनर्वास, बेलौरी, बेलडाँडी, भीमदत्त र दोधाराचाँदनीका विभिन्न भूभागमा भारतीय पक्षले दशकौँदेखि नेपाली भू–भाग अतिक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button