‘काँग्रेसलाई बलियो बनाउन स्थानीय तहले राम्रो काम गर्नुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसलाई जिताउनका लागि स्थानीय तहले राम्रो काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) विद्यार्थी विभागले आज आयोजना गरेको ‘जनप्रतिनिधि सम्मान’ कार्यक्रममा उहाँले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसलाई बलियो पार्टीका रूपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्ने बताउनुभयो ।
“स्थानीय तहको निर्वाचनमा पाएको मतबाट जनता काँग्रेसमा भोट हाल्न आतुर छन् भन्ने देखाएको छ, प्रदेश र सङ्घको निर्वाचन आउँदैछ, मतदातालाई काँग्रेसको पक्षमा आकर्षित गर्ने गरी काम गर्नुहोस्”, उहाँले भन्नुभयो । काँग्रेसले जनजीविकाको मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।
काँग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का नवनिर्वाचित वडाध्यक्ष मुकुन्द रिजालले आफू जनप्रतिनिधि भएकाले जनताको सेवक भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्